काठमाडौं । काठमाडौंपछि हेटौडा र भक्तपुरमा समेत हैजा पुष्टी भएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर ४ दुवाकोट र हेटौंडा नगरपालिकामा हैजाका संक्रमित भेटिएका हुन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उक्त दुई संक्रमितको अस्पतालमा उपचार भइरहेको छ । दुवाकोटका संक्रमितको टेकु र हेटौंडाका संक्रमितको काठमाडौंस्थित विरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ । अहिलेसम्म २१ जनामा हैजाको संक्रमित भेटिएको छ ।
काठमाडौं उपत्यकामा हालसम्म बागबजार र कालीमाटी, सानेपा, डिल्लीबजार, कपन, बालाजु ९बोहोराटार०, बल्खु, थानकोट, नैकाप, कोटेश्वर, कंलकी (खसीबजार) , किर्तिपुर, कागेश्वरी मनहरा, टेकु, र ग्वार्कोमा हैजाका संक्रमित भेटिएका छन् । काठमाडौं उपत्यकाका धारा र इनारको पानी, ट्याङकरबाट वितरण गरिने र जारको पानीमा ईकोलाई र कोलिफर्म देखिएको छ । ईकोलाई मानिसको दिसामा हुने जीवाणु हो ।
काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा आजभोलि झाडापखालाका बिरामी बढिरहेका छन् । गर्मी तथा वर्षायाम सुरु भएसँगै झाडापखाला, हैजाजस्ता रोगहरू फैलने हुँदा सावधानी र सतर्कता अपनाउन असाध्यै जरुरी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हैजाको संक्रमण हुँदा पेट दुख्ने, बान्ता हुने, असाध्यै तिर्खा लाग्ने, पातलो दिसा हुने जस्ता लक्षण देखिन्छन् ।