काठमाडौं । सरकारले सार्वजनिक स्थलमा प्रवेश गर्न खोप कार्ड अनिवार्य गरेको छ । नेपालमा कोरोना भाइरसको बढ्दो संक्रमण र मानिसहरुलाई खोपमा अनिवार्य गराउन यस्तो निर्णय लिइएको हो । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले आइतबार यस्तो निर्णय गरेको हो । व्यवस्था माघ ३ बाट लागु हुने भएको छ । निर्णय अनुसार सार्वजनिक कार्यालय, होटल तथा रेष्टुरेन्ट, सिनेमा हल, रंगशालामा प्रवेश गर्न खोप कार्ड चाहिने भएको हो ।
आन्तरिक हवाई यात्रामा समेत खोपकार्ड अनिवार्य गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म १ करोड ११ लाख ३४ हजार ६९८ जनाले पूर्ण मात्रामा अर्थात दुबै डोज खोप लगाएका छन् । ४० लाख मानिसले कम्तीमा एक डोज खोप लगाइसकेका छन् । आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुको भीडभाड कम हुने गरी उडानको व्यवस्था संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिलाउने भएको छ ।
नेपाल प्रवेश विन्दुमा एन्टिजेन परीक्षणलाई थप प्रभावकारी बनाउने र पोजेटिभ आएकाहरुलाई होटल, होल्डिङ सेन्टर लगातका आइसोलेसन सेन्टरमा राख्ने निर्णय सीसीएमसीसीले गरेको हो । सार्वजनिक स्थानमा निःशुल्क एन्टिजेन टेष्ट बुथ राखिने भएका छन् । साथै नेपालमा कोरोना खोपलाई अभियानका रुपमा चलाइने भएको छ ।