१२ वर्ष भन्दा माथिका किशोर-किशोरीलाई लगाउन भाइजर खोप किन्दै नेपाल

Photo : Dan Stepenosky| LATIMES

काठमाडौं । नेपालले १२ वर्ष भन्दा माथिका किशोर किशोरीमा कोरोना विरुद्धको खोप दिने प्रयोजनका लागि भाइजर खोप किन्ने तयारी गरेको छ । अमेरिकासहित विभिन्न देशमा कोभिडविरुद्ध प्रयोग गरिएको फाइजर खोप खरिदका लागि नेपालले नन डिस्क्लोजर अग्रीमेन्टमा हस्ताक्षर गरिसकेको बीबीसीले लेखेको छ । उसले स्वास्थ्य मन्त्रालयका सचिव लक्षण अर्याललाई यो विषयको पुष्टी गरेको छ ।

सरकारले कोभिड १९ विरुद्धका सबै खोप प्राप्तिका लागि पहल गरेको अवस्थामा फाइजरसँग पनि एक तहको समझदारी भइसकेको र उक्त खोप खरिद गर्न स्रोतको समेत जोहो भइसकेको सचिव अर्यालले बताएका छन् । अमेरिकासहित केही मुलुकमा फाइजर बायोएनटेकले विकास गरेको खोप १२ वर्षमाथिका उमेर समूहमा समेत लगाइएको छ । यो खोप नेपालमा समेत १२ देखि १८ वर्ष उमेर समूहका किशोर किशोरीमा दिइने भएको छ ।

नेपालमा बालबालिकाको सङ्ख्याका आधारमा ६० लाख फाइजर खोप प्राप्तिका लागि पहल अघि बढाइएको समेत बीबीसीले लेखेको छ । नेपालले कोभ्याक्स सुविधामार्फत् थप ४० लाख मात्रा फाइजर खोप नेपालमा ल्याउने तयारी गरेको समेत बताइएको छ । अहिलेसम्म नेपालमा कोभिशील्ड, भेरो सेल र जोनसन एन्ड जोनसन खोप प्रयोगमा ल्याइएको छ।