काठमाडौं । चीनबाट नेपाल फर्काइएका १७५ जना विद्यार्थी र १७ जना चालक दलका सदस्य तथा चिकित्सकले आज १४ औं दिन क्वारेन्टाइनमा सफलतापूर्वक पार गरेका छन् ।
उनीहरुमध्ये कसैमा पनि कोरोनाको संक्रमण भेटिएन । तर, उनीहरु आजै घर फर्कने भने नपाउने भएका छन् ।
फाइनल चरणको रिपोर्ट आउने क्रममा रहेका कारण त्यसपछि मात्र उनीहरु घर फर्कन पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार उनीहरुलाई अब १७ औं दिनमा घर फर्काउने तयारी छ ।
खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा राखिएका १७५ र नगरकोटको खानेपानी तालीम केन्द्रको क्वारेन्टाइनमा राखिएका १७ जनाको ४ फागुनमा नाक र घाँटीको स्वाब (सास) नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइएको थियो ।
पहिलो चरणको रिपोर्टमा कसैमा पनि कोरोना सङ्क्रमण भेटिएन । अन्तिम पटक शनिबार फेरि सबैको नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरि परीक्षण गरिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उल्लेख गरेको छ ।
शुरुको दिन गरेको स्वाब परीक्षणदेखि हालसम्म दैनिक दुईपटक भएको ज्वरो नापिएको छ । तर, कसैमा पनि कोरोनाको लक्षण देखिएको छैन ।
शनिबार सङ्कलन गरिने र्याल नमूना परीक्षणको रिपोर्ट सत्रौँ दिनसम्म आउने सम्भावना रहेको बताइएको छ । ढिलोमा अठारौँ दिनमा उनीहरूलाई घर फर्काउने मन्त्रालयको तयारी छ ।