काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख १४ मा स्थानीय तहको निर्वाचन देशभर एकैपटक गर्न सरकार समक्ष प्रस्ताव गरेको छ । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा निर्वाचन आयोगले उक्त मितिमा चुनाब गराउन प्रस्ताव गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले छलफलमा एकैदिन निर्वाचन गर्न सम्भव नभएमा पहिलो चरण बैशाख १४ गते बुधबार र दोस्रो चरण बैशाख २२ गते बिहीबारका दिन गर्न प्रस्ताव गरिएको बताएका छन् ।
जवाफमा प्रधानमन्त्री देउवाले दलहरुसँगको छलफलपछि आयोगको प्रस्तावलाई अगाडि बढाउने जानकारी गराए । प्रधानमन्त्री निबास बालुवाटारमा शुक्रबार भएको छलफलमा आयोगले आफ्नो गतिविधिबारे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का अन्य सदस्यहरुलाई जानकारी गराएको छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ ले निर्वाचन आयोगले सिफारिश गरेको मितिमा सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्ने ब्यवस्था गरेको छ ।
कानुनी ब्यवस्थाबारे छलफलपछि प्रधानमन्त्री देउवाले आयोगको सिफारिशमा सरकारले मिति तोक्न सहमत भएका हुन् । प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन एकै चरणमा एकै दिन गर्दा उपयुक्त हुने धारणा राखेका थिए । संविधानको धारा २२५ ले पदाधिकारीको कार्यकाल सकिएको छ महिनाभित्र निर्वाचन गर्नुपर्ने ब्यवस्था गरेको छ । स्थानीय तहका पदाधिकारीको कार्यकाल जेठ ५ मा सकिदैछ ।