काठमाडौं । सिंहदरबारस्थित सरकारको एक मात्र डाटा सेन्टरमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा मंगलबार करिब १५ सय बेवसाइट एकै पटक डाउन भएका छन् । यसले हवाई उडानदेखि अन्य अत्यावश्यक सेवा प्रभावित बनेको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार डाटा सेन्टरमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा केन्द्रका सबै सेवा अवरुद्ध भएको हो ।
यसबाट सेन्टरका कुनै पनि डाटा र सूचनामा भने क्षति नपुगेको बताइएको छ । मङ्गलबार बिहानैदेखि केन्द्रमा विद्युत् आपूर्तिमा समस्या देखिएको थियो । विद्युत् प्राधिकरणको केबलमा हिट भएपछि मङ्गलबार दिउँसो करिब २ बजे केन्द्रको गेटमै रहेको मुख्य ट्रान्सर्फमर ठुलो आवाजसाथ पड्किएको थियो। त्यसपछि सिंहदरबारभित्र विद्युत् आपूर्ति पूर्र्ण रूपले अवरुद्ध भएको थियो।
प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा दुई वटा इनकमर फिडरमार्फत विद्युत् आपूर्ति गरिएको छ। ती फिडरबाट २२.५ एमएका ट्रान्सफर्मरबाट सात सात वटा फिडर बनाइएको छ। तीमध्ये राष्ट्रिय केन्द्रमा पठाइएको फिडरमै आगलागी भएपछि केन्द्रमा विद्युत् आपूर्ति हुन सकेको थिएन। फिडर २ मार्फत वैकल्पिक आपूर्ति व्यवस्थापन गरेको थियो। राष्ट्रिय सूचना प्रविधि केन्द्रमा राति १० देखि विद्युत् सेवा सुचारु गराएपछि सेवा चलेको हो ।