१.३ डिग्रीमा झर्यो काठमाडौंको न्यूनतम तापक्रम

काठमाडौं । आज यस हिउँदकै सबैभन्दा चिसो दिनका रुपमा तापमान मापन भएको छ । काठमाडौं उपत्यकाको तापक्रम आज १.३ डिग्री मापन भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार भने काठमाडौंको तापक्रम २ दशमलव ५ डिग्री रहेको थियो।

यसअघि ३ पुसमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव ६ डिग्रीसम्म झरेको थियो । त्यसपछि केही बढेको तापक्रम आज भने ह्वात्तै घटेको छ । काठमाडौंको तापक्रम अझै कम हुने अनुमान गरिएको छ । आज अधिकतम तापक्रम १८ देखि २० डिग्रीसम्म पुग्ने अनुमान छ ।

सोहीकारण दिउँसो चर्को घाम लाग्दा काठमाडौंबासीलाई राहत भने पुगेो छ । महाशाखाका अनुसार तराईमा हुस्सु र कुहिरोको प्रभाव रहनेछ । यसले तराई क्षेत्रमा भने जनजीवन प्रभावित बनेको छ ।

देशका अन्य भूभागको मौसम भने सामान्य रहने भएको छ । काठमाडौं उपत्यकासहित प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशमा दिउँसो बादल लाग्ने गरिएको छ ।