२०७८ सालमा तीन वटा दशैं, पहिलो आज

काठमाडौं । आज हिन्दु धर्मावलम्बी नेपालीले नेपाल तथा विदेशमा चैते दशैं पर्व मनाउँदैछन् । २०७८ सालमा कुल तीन वटा दशैं परेका छन् । त्यसमध्ये आज एउटा हो । बडा दशैं असोज र आगामी चैतमा चैते दशैं मनाइने छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गा भगवतीको पूजा गरी चैते दसैँ मनाउने गरिन्छ ।

गतवर्षको चैत देशैं भने तिथिका कारण वैशाखमा सरेको हो । चैते दसैँमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने प्रचलन रहेको छ । अष्टमीको दिनलाई चैते दसैँ मानिन्छ । नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रुपमा श्रीरामको जन्म भएको दिनका रुपमा रामनवमीका रुपमा मनाइन्छ ।

काठमाडौं उपत्यकाका गुहृयेश्वरी, जगबागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा चैते दसैँका अवसरमा पूजा गरिन्छ ।

उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गर्ने प्रचलन रहेको छ ।

हनुमानढोकाको दसैँघरमा चैतदशैंमा पनि घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने प्रचलन रहेको छ । आज पूजा आराधनासहित वसन्तपुरमा ५४ बोका र ५४ राँगाको बलि दिइने छ ।