२३ साउनदेखि एक सातासम्म देशव्यापी मास्क अभियान चलाइँदै

File Photo

काठमाडौं । कोरोना भाइरस विरुद्ध जनस्तरबाटै समर्थन जुटाउन सरकारले मास्क अभियान चलाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २३ साउनबाट एक सातासम्म देशव्यापी मास्क अभियान चलाउने बताएको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ मन्त्रालयले अभियान सञ्चालन गर्न थालेको जानकारी दिएको छ । मन्त्रालयले मास्क लगाई मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान सञ्चालन गर्न थालेको जनाएको छ ।


मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार कोरोना भाइरसबाट बच्न मास्क अभियान सञ्चालन गर्न थालिएको हो । जनस्वास्थ्यमा मापदण्ड उल्लघङ्न भएको र मास्क लगाउन पनि लापरवाही गरेका कारण मापदण्ड तथा मास्कको महत्वबारे जानकारी गराउन अभियान शुरु गर्न लागिएको हो । महामारी नियन्त्रणमा खोप जतिकै मास्क, सेनिटाइजरसंँग जनस्वास्थ्यको भूमिका पनि महत्वपूर्ण रहेको छ ।

म पनि मास्क लगाउँछु र अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु भन्ने सन्देश दिई कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्न अभियान सञ्चालन गरिएको हो । कोरोना भाइरसबाट बच्न बढी प्रभावकारी उपाय भनेको नै मास्क रहेकाले सबैले अनिवार्य मास्क लगाउन सरकारले आह्वान समेत गरेको छ ।