काठमाडौं । सरकारले देशका विभिन्न स्थानमा रहेका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजलाई कोरोना अस्पतालका रुपमा वर्गिकरण गरि तोकेको छ । यी अस्पतालमा विपन्न नागरिकले कोरोना संक्रमित पछि निःशुल्क उपचार गर्न सक्ने छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजहरुसँग विपन्न नागरिक कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेको हो ।
ती अस्पतालहरुमा उपचारका लागि पुग्ने कोरोना संक्रमितले आफैंले शुल्क तिर्न नसक्ने भएमा बिरामीको उपचार बापतको खर्च स्वास्थ्य मन्त्रालयले बेहोर्ने भएको हो । आइसोलेसनमा प्रतिदिन प्रतिव्यक्ति ३५ सय, मध्यम जटिल केशका बिरामीको उपचारका लागि ७ हजार र आईसीयू तथा भेन्टिलेटरमा उपचारका गर्नेलाई १५ हजारका दरले सोधभर्ना बापत अस्पताललाई मन्त्रालयले दिने समेत सम्झौता भएको छ ।
मन्त्रालयसँग सम्झौता गरेका ३० अस्पतालहरुले संक्रमितको उपचारको खर्च विवरण स्वास्थ्य मन्त्रालयलाई बुझाउनुपर्ने हुन्छ । सरकारी अस्पताल तथा केही मेडिकल कलेजहरुमा यसअघि नै कोरोना संक्रमितको निःशूल्क उपचार हुँदै आएको छ।
