३ सय २ अमेरिकी नागरिक काठमाडौंबाट चार्टर विमानबाट अमेरिका प्रस्थान

विश्वसन्देश संवाददाता

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज कतार एयरले ३ सय २ जना अमेरिकी नागरिक लगेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासको पहलमा कतार एयरको चार्टर विमानमार्फत ३ सय २ जना अमेरिकी नागरिक आफ्नो देशतर्फ लागेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन प्रमुख सागर आचार्यले २ सय ९३ जना वयश्क र ९ जना बालबालिका मंगलबार दिउँसो १:३० बजे अमेरिकातर्फ प्रस्थान गरेका जानकारी दिए ।

नेपालका विभिन्न ठाउँको भ्रमणका लागि आएका उनीहरु अलपत्र परेपछि अमेरिकी दूतावासले कतार एयरको जहाज चार्टर गरेर स्वदेश फर्काएको हो ।

कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले वैशाख ३ गतेसम्म अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध लगाएको छ । चार्टर गरेर भने बाहिरिन सक्ने व्यवस्था गरिएकाले विभिन्न देशले आफ्ना नागरिक लैजाने क्रम जारी रहेको छ ।