४ मंसिरमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्न सत्तारुढ दलहरु सहमत, आज मिति तोक्ने तयारी

काठमाडौं । सरकारले प्रतिनिधि र प्रदेश सभाको चुनाव एकै चरणमा गर्ने गरी मिति तोक्ने भएको छ । सत्ता गठबन्धनका शीर्ष नेताबीच भएको सहमति अनुसार बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले चुनावको मिति तोक्ने भएको छ । निर्वाचन आयोगले २ मंसिर भित्र चुनाव गर्न सिफारिस गरेको थियो । मौजुदा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको पदावधि मंसिर २२ मा पूरा हुने छ ।

२०७४ साल मंसिर १० र २१ गते गरी दुई चरणमा चुनाव भएको थियो । गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेका सत्तारुढ पाँच दलले आउँदो चुनावका लागि पनि तालमेलको औपचारिक छलफल सुरु गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको गठबन्धन बैठकले सरकारलाई चुनावको मिति तत्काल घोषणा गर्न सुझाव दिएको र गठबन्धनलाई आउँदो चुनावसम्म निरन्तरता दिनेबारे पनि सहमति भएको थियो । सत्ता गठबन्धनका दलहरु आउँदो मंसिर ४ गते एकै चरणमा चुनाव गर्न सहमत भएका थिए ।