काठमाडौं । अब ५ सय भन्दा बढी कोरोना भाइरसका सक्रिय संक्रमित भएको जिल्लामा सरकारले निषेधाज्ञा जारी गर्न सक्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो जानकारी गराएको हो । तर, २ सय सक्रिय संक्रमित नाघेको अवस्थामा भने लकडाउन घोषणा गर्न सकिने भएको छ । लकडाउन निषेधाज्ञाको तुलनामा केही खुकुलो हुन्छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार ५ सय बढी सक्रिय संक्रमित भएका जिल्लाले निषेधाज्ञा जारी गर्न सक्ने प्रावधान ल्याइएको छ । २ सय बढी सक्रिय संक्रमित भएका जिल्लाहरूले लकडाउन गर्न सक्नेछन् । उनका अनुसार अहिले १२ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्।
यसरी बढी संक्रमणको शिकार हुने जिल्लामा काठमाडौं, ललितपुर, मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, र रुपन्देही रहेका छन्। उता २ सय बढी सक्रिय संक्रमित भएका जिल्ला ६ वटा छन्। सिराहा, भक्तपुर, मकवानपुर, कपिल्वस्तु, दाङ र कैलाली यो सूचिमा छन् । काठमाडौंमा मात्र ५ हजार सक्रिय संक्रमित पुगेका छन् ।