काठमाडौं । फेसबुक मानिसको जिवनशैली जस्तै बनेको छ । सोमबार रातीदेखि अवरुद्ध भएको फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम करीव ६ घण्टा लम्बियो । यस्तो अवरोध लामो समयसम्म रहेपछि फेसबुकले आफ्नो ट्वीटर ह्याण्डिलबाट माफी माग्नु परेको छ । विश्वव्यापी अवरोध झेलेको झण्डै ६ घण्टापछि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामका अर्बौँ प्रयोगकर्ताले पुनः सेवा प्रयोग गर्न पाएको फेसबुकले लेखेको छ । यी तीनवटै सामाजिक सञ्जाल फेसबुक कम्पनी मातहत छन् । वेबसाइट र स्मार्टफोन एपका माध्यमबाट यी संजाल चल्छन् ।
फेसबुकले त्यसलाई नेटवर्किङसम्बन्धी समस्या बताएको छ । साथमा उसले प्रयोगकर्तासँग माफी समेत मागेको छ । समस्या समाधान गरि डिजिटल मञ्चलाई सामान्य अवस्थामा फर्काउन टीमले कुशलतापूर्वक सक्दो छिटो काम गरेको समेत फेसबुकको भनाई छ । साइबर सुरक्षा विज्ञहरूले उक्त अवरोध प्रविधिमा देखा परेको आन्तरिक समस्याका कारण सिर्जना भएको हुन सक्ने ठानेका छन् ।
कतिपय संचारमाध्यमले करोडौं मानिसको सूचना ह्याक भएको समेत लेखेका छन् । कतिपयले भने कम्पनी भित्रकै कसैले सिर्जना गराएको समस्या हुन सक्ने अवस्था भएको आंशका गरेका छन् । बीबीसीका अनुसार बाह्य ह्याकिङ भएको सम्भावना चाहिँ कम ठानिएको छ। फेसबुकका प्रमुख प्रविधि अधिकृतले आफ्ना सेवाले १०० प्रतिशत काम गर्न भने केही समय लाग्ने बताएका छन्।
केही मानिसहरूले फेसबुकको भर्चुअल रियालिटी हेडसेट प्लेटफर्म अक्युलुस र फेसबुक लगइन चाहिने पोकेमोन गो सहितका एपहरूमा समेत सेवा प्रभावित भएको भनेर उजुरी गरेका थिए। यस्ता अवरोधको विवरण राख्ने डाउनडिटेक्टरका अनुसार यो त्यसले देखेको अहिलेसम्मकै ठूलो अवरोध हो। जसबारे विश्वभरिबाट १ करोड ६ लाख मानिसले उजुरी दिएका थिए। यो तहको अवरोध फेसबुकले यसअघि सन् २०१९ मा झेलेको थियो जतिखेर १४ घण्टाभन्दा लामो समय अवरोध देखा परेको थियो।