काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा पछिल्लो ६ महिनामा ९ वटा गैँडा मरेका छन् । तीमध्ये २ वटा सिकारीले मारेको पुष्टि भएको र थप एउटा सिकारीले मारेको आशङ्का गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यस वर्ष बुढो भएर र भिरबाट लडेर २, आपसमा जुधेर २ र बाघ एवम् गोहीको आक्रमणबाट २ वटा गैँडा मरेका हुन् । गएको कात्तिक ३० मा निकुञ्जको चपरचुली पोस्टदेखि दक्षिणको खाडलमा पारेर तस्करले २ वटा गैँडा मरेका थिए ।
त्यस्तै तस्करहरूले ६ र १८ वर्षका पोथी गैँडा खाल्डोमा पारेर मारेका थिए । ती तस्कर पक्राउ परिसकेका छन् । यसअघि भदौमा निकुञ्जकै हरदा खोला क्षेत्रमा एउटा गैँडाको हाडखोर भेटिएको थियो । तिवारीले त्याे गैँडा तस्करले मारेको आशङ्का गरेको बताए । घटनास्थलमा खाग नभेटिएकाले तस्करले मारेको हुनसक्ने आशङ्का गरिए पनि यकिन नभएको उनले बताए । अहिले पनि याे घटनाको अनुसन्धान भइरहेको छ ।
निकुञ्ज र आसपासका क्षेत्रका बढी गैँडा प्राकृतिक कारणले मर्ने गरेका छन् । निकुञ्जले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७२/७३ यता २ सय ३५ वटा गैँडा मरेका छन् र तीमध्ये १२ वटा सिकारीले मारेको आशङ्का गरिएको छ । बुढो भएर, भिरबाट लडेर, दलदलमा फसेर, बाढीले बगाएर, आपसमा जुधेर, बाघ र गोहीले आक्रमण गरेर, विद्युतीय करेन्टमा परेर, रोग लागेर, खाडलमा परेर, विष सेवन गरेर गैँडा मर्ने गरेका छन् । निकुञ्जमा पछिल्लो गणनाअनुसार ६ सय ९४ वटा गैँडा छन् ।