काठमाडौं । ९ करोड रुपैयाँ मूल्य बराबरको कोकिनसहित नेपालमा तीन जना विदेशी नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले तीन जनालाई दुई किलो ९३३ ग्राम कोकिनसहित पक्राउ गरेको हो । ब्युरोले आइतबार सार्वजनिक गरेका उनीहरु फरक फरक मुलुकका नागरिक हुन् । ३ भदौमा कतार एयरवेजको विमानबाट आएकी ३० वर्षीया दक्षिण अफ्रिकी नागरिक शिर्ले गामाको साथमा कोकिन भएको पाइएको छ ।
विमानस्थल प्रहरीले सुइको नपाएको यो पदार्थ उनी कमलादीस्थित एक होटेलमा बसेपछि भने सुइको मिलेको प्रहरीले जनाएको छ । त्यसपछि प्रहरीले निगरानी बढाएको थियो । प्रहरीले उनलाई नेपाल आएकै राति ११ बजे कमलादीस्थित एक होटलबाट पक्राउ गरेको थियो । गामा पहिलो पटक नेपाल आएकी थिइन्। उनी भिजिट भिसामा नेपाल आएकी हुन् । उनको सुटकेशमा फल्सबटम मुनिबाट दुई किलो ९३३ ग्राम कोकिन फेला परेको हो ।
गामा पक्राउ परेपछि यो कोकिन बुझ्ने मानिस भारतीय रहेको खुलेको हो । नेपालको बाटो हुँदै भारत पुग्ने कोकिनका कारोबारीलाई गागाले भेटेसँगै प्रहरीले उनीहरुलाई समेत पक्राउ गरेको हो । प्रहरीले भारत बैङलुरू किडाथी कर्नाटकका ३३ वर्षीय विजय सिंहलाई पक्राउ गरेको छ । कारोबार गर्ने दुई जना भेटघाटको तारतम्य मिलाएकी तान्जेनियाकी नागरिक गेर्ट्रुडे लियोनार्ड किमारो भने सिन्धुलीबाट पक्राउ परेकी छिन् । उनी स्थलमार्गबाट भारत भाग्न थालेको सुराकी पाएपछि प्रहरीले पक्राउ गरेको हो । तान्जानियन नागरिक किमारो दुई वर्षदेखि नेपालमा रहेको पाइएको छ । उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।