काठमाडौं । बाँकेको नरैनापुरस्थि क्वारेन्टाइनमा एक युवकको कोरोना सङ्क्रमणका कारण ज्यान गएपछि काङ्ग्रेसले सरकारप्रती प्रश्न उठाएको छ । ती युवाको मृत्यु केवल थप एक थान मृत्यु मात्र नभइ सरकारी वेवास्थाको नमुना समेत भएको काङ्ग्रेसको आरोप छ ।
यो मृत्युले गम्भीर प्रश्नहरु नजरअन्दाज गर्न नसकिने काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी प्रेस नोटमा उल्लेख छ । सरकारको यो रबैयाले कोरोनासँगको संघर्षका आगामी दिन झनै विकट हुने कांग्रेसको भनाइ छ ।
आइतबार बिहान बाँकेको नरैनापुरको क्वारेन्टाइनमा २५ वर्षीय युवकको कोरोनाका कारण ज्यान गएको थियो । उनी नेपालका दोस्रो सङ्क्रमित हुन् । लगातार दुई घन्टा वान्ता भएको, ज्वरोले च्यापेको बेला पनि उचित उपचार नपाएका उनको बिहान मृत्युु भएको थियो । दुई घण्टासम्म बान्ता हुँदा पनि उनलाई अस्पताल लैजान एम्बुलेन्स आएको थिएन ।
कोरोनाका दोस्रो सङ्क्रमितको निधनपछी काङ्ग्रेसले उठाएको सवाल
(१)ती युवकले अघिल्लो दिनदेखि नै पटकपटक बान्ता गरेको, सास फेर्न कठिनाइ भएको, ज्वरो आएको विवरण थाहा हुँदाहुँदै क्वारेन्टाइनमा नियमित निगरानी राख्नुपर्ने राज्यले तिनलाई अघिल्लो दिन नै अस्पताल पुर्याउनु पर्ने सामान्य दायित्व पनि किन निर्वाह गरेन ?
(२)क्वारेन्टाइनको कार्यविधिले २४ घण्टा एम्बुलेन्स सेवा उपलब्ध रहनुपर्ने मापदण्ड उल्लेख गरेको छ, तर उनी शनिबार राति एकाएक सिकिस्त भएपछि तत्काल एम्बुलेन्स किन उपलब्ध भएन ?
(३) एम्बुलेन्स उपलब्ध नहुनुमा चालकको असुरक्षित मनोविज्ञानको भूमिका हो भने अत्यावश्यक सुरक्षा सामग्री र जरुरी मानवीय प्रशिक्षण साथ एम्बुलेन्स चालकहरुलाई किन सजग र सतर्क अवस्थामा राख्न सकिएन ? देशभर नै यो समस्या किन निरन्तर देखिएको छ ?
(४) आइतबार बिहान ७ बज्नुअघि उनको मृत्यु भएपछि उनको लास क्वारेन्टाइन बनाइएको विद्यालयको चौरमा अलपत्र स्थितिमा किन दिनभर राखियो ? अमानवीय ढंगले ती युवाको लास दिनभर घाममा सुकाएर राख्नुभन्दा सुरक्षित ब्यवस्थापनका साथ उठाएर उपयुक्त ठाउँमा राख्ने मानवीय र जिम्मेवार सोच नदेखिनुको दोषी को हुन् ?
(५) लास उठाउन परीक्षण रिपोर्टको प्रतीक्षा गरिएको हो भने, सम्भव भएसम्म चाँडो रिपोर्ट तयार गर्न उचित समन्वय किन गरिएन ? विशेष परिस्थितिमा चिकित्सक र प्रयोगशाला बीच समन्वय गरेर एउटा मात्रै नमुनालाई प्राथमिकता साथ परीक्षण गर्दा म्यानुएल आरएनए निकाल्न करिब एक घण्टा, पीसीआर उपकरणमा परीक्षण गर्न दुई घण्टा लाग्ने प्राविधिक स्थिति ज्ञात हुँदाहुँदै अघिल्लो दिन संकलन गरिएको उनको स्वाबको परीक्षण त्यही ढंगले समयमै गर्ने/गराउने व्यवस्थापकीय समन्वय र तदारुकता किन प्रस्तुत भएन ?
(६)नेपालमा कोरोनाको पहिलो संक्रमित भेटिएको चार महिना पुग्न लाग्दासम्म पनि क्वारेन्टाइनको यस्तो अव्यवस्थित स्थितिदेखि परीक्षण ढिलाइसम्म र स्वास्थ सामग्री अभावदेखि फिल्डमा चुस्त कार्यसम्पादन गर्ने टिम संयोजन सम्ममा प्रायः धेरै ठाउँमा गम्भीर लापर्बाही रहेकोे विचित्रताले आगामी दिनको कस्तो चित्रको संकेत गर्दैछ ?
(७)श्रीमती तथा अवोध छोरीछोराले परबाट लास हेर्दै दिनभर रोएको कारुणिक चित्रले राज्यसत्ताको जिम्मेवारीमा रहेकाहरुलाई आफ्नो कर्तव्यप्रति गम्भीर बन्ने गरी केही चेत आएको छ कि बाँकेको घटनालाई केवल एक दुःखद कथाका रूपमा विस्मृतिमा धकेल्ने ?