काठमाडौं भाद्र २४ ।गोकर्णेश्वर नगरपालिका स्थित राष्ट्रिय शहिद तथा शान्ति पार्कमा नेपाल सरकारका मुख्य सचिब शंकरदास बैरागिकाे प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । निजामति सेवा दिवस २०७८ को अवसरमा निजामति ऐन जारि मिति २०१३ भाद्र २२ काे सम्झनामा तत्कालिन प्रधान मन्त्रि टंक प्रशाद आचार्य र तत्कालिन मुख्य सचिब चन्द्र बहादुर थापाको शालिक समेत शिलान्यास गरिएको छ।

निजामति क्षेत्र व्यवस्थापन समिति र बियुराे ८१ नेपालको आयोजनामा बुधबार भएको कार्यक्रममा मुख्य सचिव शंकरदास बैरागीले यज्ञडोल सामुदायिक वनमा निर्माणधीन निजामती स्मारकको शिलान्यास गरेका हुन् ।निर्माणाधीन निजामती स्मारकमा तत्कालीन समयमा पहिलो पटक निजामती सेवा ऐन जारी गर्न नेतृत्व लिएका उनीहरुको शालिक बन्न लागेको हो। अगामी एक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको राष्ट्रिय शहीद तथा शान्ति पार्क, निजामती (स्मारक) यज्ञडोल (जगडोल) सामुदायिक वन पर्यापर्यटन प्रबर्द्धन तथा उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले जानकारी गराए ।

कार्यक्रममा पूर्व मुख्यसचिव थापाका आफन्त डा पार्थिवेश्वर तिमल्सिना, समितिका अध्यक्ष सिग्देल लगायत वक्ताले निजामती इतिहासमा महत्वपूर्ण काम गर्नुभएका दुई व्यक्तित्वको शालिक निर्माणले भावी पुस्तालाई सकारात्मक सन्देश प्रवाह गर्ने जानकारी गराए । चालु आर्थिक वर्षमै शालिक निर्माण सम्पन्न गरी अर्को वर्ष देखि निजामती सेवा दिवसको मूल कार्यक्रम स्मारक स्थलमै गर्ने लक्ष्य राखिएको समेत जानकारी गराइएको थियो ।सो अवसरमा स्मारक निर्माणस्थलमा कपुर, अमला,धुपी, रुद्राक्ष लगायत ५० जातका बिरुवा पनि रोपिएको थियो ।कार्यक्रममा पूर्व मुख्यसचिव थापाले ९० वर्ष अघि लेखेको पुस्तक ‘छोटो रामायण’ को दोस्रो संस्करण विमोचन गरिइएको थियो । विद्यालय तहका विद्यार्थीलाई रामायणका मुख्य कुरा बुझ्न सजिलो होस् भनी थापाले यो पुस्तक रचना गरेको उनको नातिनी विद्या भण्डारीले जानकारी गराइन ।

सो अवसरमा मुख्यसचिव वैरागीले चालु आर्थिक वर्षभित्र दुवै शालिक निर्माण सकिने गरी काम गर्न निर्देशन दिए । राष्ट्रिय शहीद तथा शान्ति पार्क, निजामती (स्मारक) निर्माणको कार्य योजना स्वीकृतिको बेलामै मन्त्रिपरिषद्ले कर्मचारीले पदभार ग्रहण गर्नुअघि स्मारकमा माल्यार्पण गर्ने व्यवस्था अर्को वर्षदेखि कार्यान्वयनमा ल्याइने समेत जानकारी गराएका थिए ।कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका विज्ञान सचिव सुरेश आचार्यले स्मारक क्षेत्रमा निर्माण हुन लागेको युनेस्को ग्रामको अवधारणाले धेरै विषयलाई जोड्ने बताए । वन मन्त्रालयका सचिव डा पेमनारायण कँडेलले सामुदायिक वनमा स्मारक निर्माण गरेर पनि वन संरक्षण गर्न सकिन्छ भन्ने उदाहरण जगडोल सामुदायिक वनले प्रस्तुत गरेको जानकारी दिए ।

निर्माणाधीन राष्ट्रिय शहीद स्मारकसँगै निजामती स्मारक असी प्रतिशत भौतिक प्रगति भएर काम अलपत्र भएको समितिका अध्यक्ष सिग्देलले जानकारी गराएका छन् । शान्ति तथा पुनर्निर्माण मन्त्रालयअन्तर्गत निर्माण सुरु भएको आयोजना मन्त्रालय खारेजीसँगै हाल शहरी विकास मन्त्रालयमार्फत् सञ्चालनमा छ । शहरी विकास तथा भवन निर्माण विभागले जिम्मा लिएको चार वर्ष पूरा भएपनि काममा प्रगति हुन सकेको छैन । डाँफे–गौरी–पर्वत–सुनौला–खिम्ती जेभीले स्मारक निर्माण ठेक्का पाएको छ । पछिल्लो समय विभागले पनि ध्यान नदिँदा कामममा ढिलाइ भएको स्थानीयवासीको गुनासो रहेको छ ।

विभागबाट आयोजना प्रमुखका रुपमा काम गरिरहेका वरिष्ठ डिभिजनल इञ्जिनीयर मचाकाजी महर्जन अब पनि काम नगर्ने निर्माण व्यवसायीलाई कालो सूचीमा राख्ने गरी तयारी भइसकेको जानकारी गराएका छन् । चालु आर्थिक वर्षभित्रमा अलपत्र रहेका आयोजनाका सबै काम सम्पन्न गरी स्मारक सञ्चालन हुने उनको भनाइ छ ।
