काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २६औँ सम्मेलन (कोप२६) औपचारिक रूपमा शुरु भएको छ । युनाइटेड किन्डमको ग्लास्गो शहरमा सम्मेलन सुरु भएको हो । बीबीसीका अनुसार जलवायु परिवर्तनलाई नियन्त्रण गर्नका लागि महत्त्वपूर्ण ठानिएको यस सम्मेलनमा आइतवार धेरैजसो औपचारिक समारोह तय भए तापनि सोमवारबाट विश्व नेताहरूले छलफल र बहस सुरु गर्नेछन्।
जैविक इन्धनको प्रयोग सहित मानवीय कारणले विश्वको तापमान बढिरहेका बेला वैज्ञानिकहरूले जलवायु विपद् छल्न आपत्कालीन कार्यहरू आवश्यक रहेका चेतावनी दिइरहेका छन्। यूकेका प्रधानमन्त्री बोरिस जोनसनले यस सम्मेलनलाई विश्वको सत्यको क्षण भएको बताए ।
सन् २१०० भित्र औसत तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य तय गरिए पनि यतिखेर विश्वको तापमान २.७ डिग्री सेल्सियस पुग्ने गतिले बढिरहँदा त्यसले जलवायु दुर्भाग्य निम्त्याउने संयुक्त राष्ट्रसङ्घले जनाएको छ। कोप२६ का अध्यक्ष आलोक शर्माले १.५ डिग्री सेल्सियसको लक्ष्यमा पुग्ने काम ुनिकै कठिनु रहेको बताउँदै त्यो हासिल गर्न विश्व नेताहरू एकजुट हुनुपर्ने बताएका छन्।
झण्डै २०० देशहरूलाई आफ्ना कार्बन उत्सर्जन घटाउने थप महत्त्वाकाङ्क्षी लक्ष्यहरू तय गर्न भनिएको छ। यस सम्मेलनकै अवसर पारेर आज राष्ट्रसङ्घीय मौसमी निकायले एउटा प्रतिवेदन सार्वजनिक गरेर यसअघिका प्रतिवेदनले देखाएको जलवायु असरको थप पुष्टि गर्ने भएको छ ।
विज्ञहरूले यतिखेर जलवायु परिवर्तनले संसारभरका विभिन्न जलवायु प्रणाली अस्थिर बनिरहेको चिन्ताजनक चित्र देखाइरहेका छन्। जसको अर्थ चरम विपद्का घटनाहरू झन् बढ्ने भन्ने विज्ञहरूको चेतावनी पाइन्छ।