पटाका पड्काउँदा भारतको राजधानी नयाँ दिल्ली कुइरोले ढाकियो

Photo : DNA India

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्ली संसारकै प्रदुषित बनेको छ । वायु प्रदुषण आइतबार सम्म नै कायम रहने भएको छ । भारतीय संचारमाधयमहरुका अनुसार नयाँ दिल्लीमा लक्ष्मीपूजा र यसका अवसरमा पढ्काइएका पटाका प्रमुख कारण हो । राजधानी नयाँ दिल्लीमा दीपावलीका पटाकाहरूका कारण शुक्रवार वायु प्रदूषण खतरनाक स्तरमा पुगेको हो ।

प्रतिबन्ध लगाइए पनि सहरभरि मानिसहरूले बिहीवार राति अबेरसम्म पटाका पट्काएका छन् । नयाँ दिल्लीको आकाश धुम्म परेको छ । सवारीसाधन र औद्योगिक उत्सर्जन, धुलो र मौसमले दिल्लीलाई विश्वको सबैभन्दा प्रदूषित राजधानीको रूपमा चिनाएको छ। हिउँद याममा छिमेकी राज्यहरूमा जलाइएका परालहरूका धुवाँका कारण दिल्लीको वायु विषाक्त बन्ने गरेको छ।

दीपावलीको समयमा आतिशबाजीका प्रदूषित कणहरू वायुमण्डलको तल्लो सतहमै रहने हुँदा हावाको गुणस्तरलाई झनै बिगारेको बताइएको छ । वायुमा हुने खतरनाक साना प्रदूषकहरू पीएम २.५ को मात्रा दिल्लीका केही भागमा ९९९ प्रतिघनमिटर थियो जुन वायु गुणस्तर नाप्ने मेसिनमा देखाउने सबैभन्दा ठूलो सङ्ख्या हो। त्यहाँका धेरै ठाउँहरूमा ५०० भन्दा माथि पीएम २.५ को मात्रा रेकर्ड गरिएको थियो। यो मात्रा भनेको जनस्वास्थ्यलाई गम्भीर असर गर्ने स्तर हो।

वायु गुणस्तर सूचकाङ्क एक्यूआईमा शून्यदेखि ५० सम्मको मात्रा ूराम्रोू मानिन्छ र ५१ र १०० बीचमा मात्रा सन्तोषजनक मानिन्छ। प्रदूषणको स्तरलाई न्यूनीकरण गर्न सरकारले यस वर्ष पटाका विक्री वितरणमा प्रतिबन्ध लगाएको छ । तर त्यसले काम गरेको देखिएन। शुक्रवार बिहान सहर प्रदूषणका कारण धुम्म थियो भने धेरै मानिसले आँखा पिरो भएको र घाँटी चिलाएको बताएका थिए।

एनडीटीभीका अनुसार प्रदूषणका कारण राजमार्गमा छवटा कार दुर्घटना भएका छन् जसमा केही मानिसहरू घाइते भएका छन्। अधिकारीहरूले वायु गुणस्तर आइतवार बेलुकीसम्म थोरै सुधार हुने बताएका छन्। सरकारी वायु गुणस्तर मापन अधिकारीहरूले त्यहाँको प्रदूषण कणको ३५ प्रतिशत जलाइएका परालहरूका कारण भएको र त्यो बढ्दै जाने अनुमान गरेका छन्।

भारत संसारकै सबैभन्दा वायु प्रदूषित देश हो। संसारका सबैभन्दा प्रदूषित ३० सहरमध्ये २२ वटा भारतमा रहेका छन्। भारतका प्रदूषित वायुका कारण बर्सेनि १० लाख मानिसको मृत्यु हुने विज्ञहरू बताउँछन्। गत वर्ष दिल्लीमा पीएम २.५ को हालसम्मकै सबैभन्दा बढी मात्रा रेकर्ड गरिएको थियो जुन विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्य सीमा भनी निर्धारण गरेको भन्दा १४ गुणा बढी थियो।