न्यूह्यामसायरमा आचार्यको उपन्यास ‘मोचन’ मन्थन

कंकर्ड

युवा साहित्यकार डा. तुलसी आचार्यद्वारा लिखित उपन्यास मोचन माथिको समिक्षात्मक छलफल न्यूह्यामसायरमा सम्पन्न भएको छ । राज्यको राजधानी कंकर्डमा शनिबार सम्पन्न छलफलमा साहित्यकार महेश्वर पन्त एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका (अनेसास) केन्द्रिय उपाध्यक्ष गोवर्धन पूजा लगायतले कृति माथि समिक्षा गरेका थिए ।

पन्तले उपन्यासले नेपाली मध्यम वर्गीय युवा पुस्ताको प्रतिनिधित्व गरेको बताए । किताबमा लेखकको गहिरो अध्ययन र मेहनत छचल्किएको उनको भनाइ थियो । किताबमा प्रस्तुत त्रिकोणात्मक प्रेम सम्बन्धले वर्तमान समय र समाजलाई प्रतिनिधित्व गर्ने समेत उनले बताए ।

साहित्यकार पूजा उपन्यासले नारीमाथि गहिरो सम्मान दर्शाएको एवं समकालिन नेपाली लेखनमा आचार्यले फरक पहिचान स्थापित गरेको बताए । उपन्यास बौद्धिक एवं भाषाशैली सरल रहेको कारण सबै वर्गका पाठकलाई प्रभाव पार्ने उनको भनाइ थियो । समयअनुकुल जति आधुनिक बन्न खोजेपनि अन्त्यमा अध्यात्मलाई अनुशरण गर्ने मानवीय यथार्थ पनि उपन्यासमा प्रतिबिम्बित रहेको उनले उल्लेख गरे । ‘सुखान्त कथा रहेको उपन्यासले नेपाली आख्यान विधामा नयाँ इँटा थपेको छ’ उनले भने ।

लेखक आचार्यले अग्रज साहित्यकारहरुको सुझाव र टिप्पणीले आफुलाई भावी लेखनमा सुधारको प्रेरणा मिलेको बताए । ‘हामीले बाँचेको समय गुरु प्रसाद मैनालीको परालोको आगोको युग होइन जहाँ एक महिलाले मुखमा पानी हालेपछि घर भित्रका सारा झै झगडा अन्त्य हुन्छन्, उनले प्रष्ट्याए- अहिले नारीले मुखमा पानी हालेर बस्ने होइन कुन तहको विद्रोह गर्न सक्छन् भनेर कितावमा देखाउन खोजेको छु ।’ आचार्यले आफ्नो उपन्यास एमाजोनमा समेत उपलब्ध रहेको जानकारी दिए ।

अमेरिकामा विद्यावारिधी गरेर नेपाल फर्किएपछि आचार्यले आफ्नो पहिलो उपन्यासको रुपमा मोचन प्रकाशित गरेका थिए । मोचन मन्थनमा अनेसास न्यूह्यासायर च्याप्टरका प्रधान सम्पादक इश्वरी भट्ट, साहित्य अनुरागी राम भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सभापतित्व अनेसास न्यूह्यामसायर च्याप्टरका अध्यक्ष हरिमाया खतिवडाले गरेकी थिइन् ।