काठमाडौं । १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मौन अवधी आजबाट शुरु भएको छ । आइतबार राति १२ बजेबाट मौन अवधी प्रारम्भ भएको हो । मौन अवधि शुरु हुनुभन्दा अगाडि नै निर्वाचन चिह्न लगायतका प्रचार सामग्री हटाउनुपर्ने लगायतका आचरण पार्टीहरुले पालना गर्नु पर्छ । यसमा निर्वाचन आयोगले सचेत गराएको छ । मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाइँदैन । साथै मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका निर्वाचन चिह्न, प्रचार सामग्री हटाउनुपर्दछ ।
एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमबाट पनि निर्वाचन प्रचार गर्न नपाइने निर्वाचन आयोगको सूचनामा उल्लेख छ । मौन अवधिमा उम्मेदवार वा कुनै राजनीतिक दलको प्रचार हुने गरी समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पनि निषेध गरिएको छ । साथै निर्वाचन आयोगले निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन समेत दिएको छ ।
राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटका लागि सात वटै प्रदेशमा माघ १२ गते मतदान हुँदैछ । निर्वाचनमा नौ दलका ४३ जना उम्मेदवार छन् । प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन पदका लागि निर्वाचन हुनेछ ।
सातै प्रदेशमा कुल २०२५ मतदाता छन् । निर्वाचन आयोगका अनुसार निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग हुने छ । रातो रंगको मतपत्र स्थानीय तहका प्रमुख र उपप्रमुखले प्रयोग गर्नेछन् । हरियो रंगको मतपत्र भने प्रदेश सभा सदस्यले प्रयोग गर्ने छन् ।