काठमाडौं । काठमाडौं उपत्यकाको विशेष पर्व इन्द्रजात्रा । आज धुमधामका साथ मनाइदैछ ।
उपत्यकाको विशेष सांस्कृतिक पर्वका रुपमा चिनियो यो पर्वका अवसरमा काठमाडौँ महानगरपालिकाले विदेशी पाहुनालाई नेपाल बोलाएको छ ।
सरकारले उपत्यकामा सार्वजनिक विदा समेत दिने गरेको छ । महानगरले भगिनी सम्बन्ध भएका सहरका प्रमुखसहित ४८ विशिष्ट विदेशी पाहुना जात्रा अवलोकनमा सहभागी हुने बताएको छ ।
यसबाट काठमाडौंको प्रचार प्रसार हुनुका साथै भ्रमण वर्ष २०२० का लागि समेत महत्वपूर्ण सावित हुने विश्वास लिएको छ ।
महानगरपालिकाका अनुसार जात्रा हेर्न चीन, भारत, बङ्गलादेश, भुटान र जापानका महानगरपालिकासँग भगिनी सम्बन्ध भएका १६ सहरका प्रमुख काठमाडौं आएका छन् ।
विदेशी पाहुनालाई इन्द्रजात्रा अवलोकन गर्न निमन्त्रणा दिइएको हो ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यका अनुसार कुमारी, गणेश, भैरवलाई रथमा राखी सहर परिक्रमा गराउने, लाखेनाच, पुुलुकिसि, दीप्याखँ, महाकाली नाच, श्रीहरिचोक आकाश भैरव नाचलगायत अन्य थुप्रै सांस्कृतिक र धार्मिक परम्परा प्रस्तुत गरिने इन्द्रजात्रा विश्वमा अन्यत्र कही पनि नमनाइने भएकाले विदेशी पाहुनालाई यो पर्व आकर्षक हुने बताए ।
इन्द्रजात्रामा सहभागी पाहुनालाई विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू महाचैत्य, स्वयम्भूमै रहेको प्राकृतिक सङ्ग्रहालय, भक्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, चन्द्रागिरिलगायत महत्वपूर्ण स्थानको भ्रमण गराइने समेत तालिका रहेको छ ।
वसन्तपुरस्थित कुमारीघरको वार्षिक पूजा र शान्तिस्वस्ति कार्य गरेर मङ्गलबारबाट इन्द्रजात्रा सुरु भएको छ ।
वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी इन्द्रजात्रा पर्व मनाउने प्रचलन रहेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा निकै धुमधाम सहित मनाइन्छ ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।
भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ ।
शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।
आज इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा छ ।