काठमाडौं । मंकीपक्स संक्रमित भएका बिरामीको पहिलो पटक अफ्रिका बाहिर मृत्यु भएको छ । ब्राजिलमा ४१ वर्षीय पुरुषको मृत्यु नै अफ्रिकाबाहिर मंकीपक्सबाट भएको पहिलो मृत्यु रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । उता, स्पेनमा पनि पहिलो पटक मंकीपक्सबाट मृत्यु भएको छ । यो युरोपमा मंकीपक्सबाट भएको पहिलो मृत्यु हो । गत हप्ता विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मंकीपक्स संक्रमणलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित लिम्फोमा र कम प्रतिरोधी क्षमताको समस्याबाट ग्रसित थिए । ब्राजिलमा अहिलेसम्म १ हजार ६६ जनामा संक्रमण पुष्टि भएको छ । ५१३ जनामा संक्रमणको आशंका गरिएको छ । ब्राजिली स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएकामध्ये ९८ प्रतिशत पुरुषलाई पुरुषसँगको यौनसम्पर्कबाट संक्रमण भएको हो । स्पेनमा अहिलेसम्म ३ हजार ७ सय ५० जनामा संक्रमण भएको छ । त्यसमध्ये ३.२ प्रतिशत अर्थात १२० जना अस्पताल भर्ना भएका छन् ।
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार अहिलेसम्म विश्वभर २१ हजार १ सय ४८ जनामा मंकीपक्सको संक्रमण पुष्टि भएको छ । यसअघि मध्य र पश्चिम अफ्रिकी मुलुकमा मंकीपक्स संक्रमण देखिने गरेको थियो । तर यसपटक भने विश्वका ७५ भन्दा बढी मुलुकका मंकीपक्स देखिएको छ । छिमेकी मुलुक भारतमा पनि ४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार मंकीपक्स संक्रमणको उच्च जोखिममा समलिंगी तथा बाइसेक्सुअल पुरुष रहेका छन् ।
मंकीपक्स भाइरस सन् १९५८ मा पहिलोपटक खोरमा राखिएको बाँदरमा पाइएको थियो । त्यही भएर यो रोगलाई मंकीपक्स नाम दिइएको हो । त्यसपछि अफ्रिकामा विभिन्न प्रकारका लोखर्के, मुसा, न्याउरी मुसा र विभिन्न प्रजातिका बाँदरमा संक्रमण पाइयो ।
मान्छेमा भने पहिलोपटक सन् १९७० मा अफ्रिकी मुलुक कंगोमा ९ महिने बालकमा संक्रमण पुष्टि भएको थियो । त्यसताका यो संक्रमण कंगो र मध्य एवं पश्चिम अफ्रिकालगायतका मुलुकमा देखिइसकेको छ । हालसम्म मंकीपक्सविरुद्ध खोप पत्ता लागेको छैन । तर, मंकीपक्स बिफर परिवारकै एक भाइरस भएकाले बिफरविरुद्धको खोपले केही हदसम्म जोगाउने डब्लूएचओले जनाएको छ ।