बोस्टनमा तीज महोत्सव-२०२२ को तयारी तिब्र

तीजको लहर आयो बरी लै…

बर्षौदेखि नेपालीहरुको महान चाड हरितालिका तीजको अवसरमा एकछत्र गुन्जने गीत हो यो। तीजका अवसरमा अन्य तीज लक्षित गीतहरु पनि गुन्जिने गर्दछन्। जब तीज नजिकिन थाल्छ, तब यस्ता गीतहरुले आफ्नो मौनता तोडदै गाँउदेखि शहरसम्म सर्वत्र गुन्जिन थाल्छन् । जसले नेपालीहरुमा हर्षोल्लास र उमङ्गको छुट्टै तरङ्ग पैदा गरिदिन्छ । यस वर्ष पनि हरितालिका तीज नजिकिसकेका कारण तीज लक्षित गीतहरु गाँउदेखि शहरसम्म, देशदेखि बिदेशसम्म गुञ्जिन थालिसकेका छन् । र, नेपाली समुदायमा उल्लास तथा उमङ्ग छाउन सुरु भैसकेको छ। कलाकार तथा संघ संस्थाहरुलाई पनि भ्याइ नभ्याइ हुन थालिसकेको छ। महिलादेखि पुरुषसम्म भुरादेखि बुढासम्म सबैलाई तीजले प्रतक्ष्य अप्रतक्ष्य रुपमा छोइ सकेको छ।यसबाट अमेरिकाको मासाचुसेट्स राज्यमा बसोबास गर्ने नेपाली/नेपाली भाषी समुदाय पनि यसबाट अछुतो रहन सकेका छैनन्।

केही वर्षदेखि कोरोना कहरका कारण सामूहिक तीज कार्यक्रमहरु प्रभावित हुदै आइरहेका छन्। गत वर्ष मासाचुसेट्स बासी नेपाली/नेपाली भाषी समूदायले सामूहिक तीज कार्यक्रम गर्न निकै तयारी गरेका थिए। तर, दुर्भाग्य ! अन्तिममा गएर तय गरिएको तीज कार्यक्रम कोरोना कहरकै कारण देखाउदै रद्ध गर्न आयोजक बाध्य भएको थियो। यस वर्ष भने अवस्था केही सुध्रिएकाले तीज पर्व सामूहिक रुपमा मनाइने निर्णय भएसंगै तयारी थालिएको थियो। यसका लागि बोस्टन स्थित नेपाली समुदायको संस्थाहरु ग्रेटर बोस्टन नेपाली समुदाय र गैर आवासीय नेपाली संघको संयुक्त आयोजनामा ’बोस्टन तीज महोत्सव-२०२२’ भव्य र सभ्य रुपमा मनाउन आवश्यक तयारी तिब्र रुपमा गरिदै छ। उक्त कार्यक्रम वाटर टाउन सिटीको सेन्ट जेम्स अर्मेनियन चर्च भवनमा, यही आउदो अगष्ट २० तारिख (शनिवार)का दिन आयोजना गर्ने गरी आवश्यक तयारीलाई तिब्रता दिइरहेको आयोजकले जनाएको छ।
तीजको मूल मर्मलाई आत्मसात् गर्दै धार्मिक, साँस्कृतिक, परम्परा र नेपाली पहिचानको संरक्षण तथा संवर्धन गर्दै मनोरञ्जन गर्ने तीज महोत्सव-२०२२को मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।

आयोजक संस्था गैर आवासीय नेपाली संघ, म्यासाचुसेट्स च्याप्टरका अध्यक्ष प्रेम तामाङले जानकारी दिनु भए अनुसार, महोत्सवमा नेपाली पहिचानसहितका विभिन्न मिष्ठान्न परिकारहरु समेटेर दर खाने कार्यक्रम पनि समेटिएको छ। उहाँले भन्नु भयो,‘कोरोना कहर सुरु भएदेखि हाम्रो तीज कार्यक्रम प्रभावित भएको छ। यस वर्ष भने सहज वातावरण भएकाले भव्य र सभ्य रुपमा तीज मनाउन हामी तयारीमा जुटिरहेका छौं। यस वर्षको तीज महोत्सव मार्फत परदेशमा रहेका नेपालीहरु बिच आत्मीय एकताको अपरिहार्यता महसुस गरेर सोही अनुरुप आवश्यक एकताको सन्देश समेत दिने गरी तयारी गरिरहेका छौं।’
अध्यक्ष तामाङले तीज महोत्सव-२०२२लाई लक्ष्य र उद्देश्य अनुसार सफल बनाउन, आवश्यक सहयोग र सहभागिताका लागि सरोकार वालाहरु र सम्पूर्ण बोस्टन बासी नेपाली/नेपाली भाषीहरुलाई अनुरोध समेत गर्नु भएको छ।

तीज महोत्सवलाई चाडको मर्ममा केन्द्रिकृत गर्दै सक्दो मनोरञ्जनात्मक तथा उल्लासमय बनाउने गरी आवश्यक तयारीमा जुटेको कुरा अर्को आयोजक संस्था ग्रेटर बोस्टन नेपाली कम्युनिटिका अध्यक्ष मिलन कुमार कार्कीले जानकारी दिनु भयो। अध्यक्ष कार्कीले भन्नु भयो,’ हरितालिका तीजको मर्ममा केन्द्रिकृत भएर तीज महोत्सव-२०२२ मनाउन सक्दो प्रयास गर्ने छौं।’ अध्यक्ष कार्कीका अनुसार आयोजकले नेपालीहरु बिचको एकता र आत्मीय भातृत्वलाई सुमधुर बनाउनमा कार्यक्रमले अहम भूमिका खेल्ने आशा गरेको छ।’ उहाँले जिकिर गर्नु भयो,’ यो तीज महोत्सव कार्यक्रमले नेपाली/नेपाली भाषीहरुको बिच सामिप्यता, एकता र भातृत्वलाई थप मजबुत बनाउन अहम भूमिका खेल्छ भन्नेमा हामी आशावादी छौं।’

आयोजकले जानकारी दिए अनुसार कार्यक्रममा सहभागिता जनाउनका लागि प्रति व्यक्तिले सहयोग स्वरुप अग्रिम टिकट खरिद गरेमा ३५ डलर र कार्यक्रम स्थलमै टिकट खरिद गरेमा ४५ डलर भुक्तान गर्नु पर्ने व्यवस्था गरिएको छ भने, १२ वर्ष मुनिका बाबालिकालाई शुल्क नलाग्ने र १२ वर्ष माथिकालाई पुरा शुल्क लाग्ने छ। उक्त कार्यक्रममा ३५० टिकट बिक्री गर्ने आयोजकको लक्ष्य रहेको छ।

महोत्सवलाई मनोरञ्जनात्मक तथा हर्षोल्लासमय बनाउन, साँगितिक कार्यक्रमको पनि आयोजना गर्ने गरी तयारी गरिएको आयोजकले दावी गरेको छ। महोत्सवमा स्थानीय नेपाली कलाकारहरुद्वारा नेपालीपन झल्किने तीज केन्द्रित गीतहरु र नृत्यहरु समेत पस्किने छन्।

हिन्दू धार्मिक ग्रन्थ अनुसार पार्वतीले निराहार व्रत बसी विधि पूर्व शिवको पूजा, अर्चना, आराधन र प्रार्थना गरेर भगवान शिव जस्तो होनहार शक्तिमान वर पाएको भन्ने बिश्वासका आधारमा सोही अनुसार यो चाड मनाइदै आइरहेको छ। जस अनुसार हिन्दु धर्मावलम्बी महिलाहरुले विवाहित भए पतिको सुस्वास्थ्य,दिर्घायू र उत्तरोत्तर प्रगतिको कामनासहित सुखद् दामपत्य जीवनको र अविवाहित भए भगवान शिव जस्तै योग्य वर पाँऊ भनी पूजा,अर्चना,स्तुति र प्रार्थना गरी यो चाड भब्यताका साथ मनाउने गरिन्छ।यसका अतिरिक्त यस चाडलाई माइती र चेली बिचको सम्बन्धलाई सुमधुर बनाउने, ज्ञान शिक्षा आदानप्रदान गर्ने, महिला अधिकार र सशक्तिकरण गर्ने, गीत संगीतको संरक्षण तथा संवर्धन गर्ने र मनोरञ्जन गर्ने सुवर्ण अवसरका रुपमा पनि सदुपयोग गरिदै आइरहिएको छ। तर,पछिल्लो समयमा यो चाडलाई बृहत र नयाँ रुपमा मनाउने नाममा, भित्रिएका परिवर्तनहरुले भने चाडको मुख्य मर्म नै मर्न लागेकोप्रति भने सर्वत्र चिन्ता बढ्दै गएको छ ।यस प्रति सबै सचेत हुन जरुरी छ।

सुपेन्द्र बस्नेत