भूकम्प प्रभावित टर्की\ सिरियामा हिउँ र ठन्डीले अर्को संकट निम्त्याउँदै

काठमाडौं । टर्की र सिरियामा सोमवार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २०,००० भन्दा बढी पुगेको छ। यद्यपि संयुक्त राष्ट्र सङ्घले प्रकोपको पूर्ण असरबारे अझै यकिन नभएको बताएको छ। उद्धारकर्मीहरूले जीवित मानिसहरूको खोजी गरिरहेका छन्। तर भूकम्प गएको १०० घण्टा पुग्न लाग्दा बाँचेका कोही भेटिनेबारे आशा हराउँदै गएको छ। अत्यधिक चिसो मौसमका कारण हजारौँ भूकम्प पीडितको जीवन समेत जोखिममा छ। उनीहरू प्रकोपपछि आवास, पिउने पानी र खानाबाट वञ्चित छन्।

टर्कीका राष्ट्रपतिले उक्त भूकम्पलाई ‘शताब्दीकै प्रकोप’ भनेका छन्। प्रभावितहरूका लागि एक प्रमुख अन्तर्राष्ट्रिय राहत प्रयासले गति लिएको छ। विहीवार विश्व ब्याङ्कले टर्कीलाई आधारभूत पूर्वाधारको पुनर्निर्माण र भूकम्पबाट प्रभावितहरूलाई सहयोग गर्न तत्काल वित्तीय सहायतासहित १.७८ अर्ब डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

तर भूकम्पले क्षति गरेका ठाउँहरूमा खटेका १,००,००० भन्दा बढी उद्धारकर्मीहरूको प्रयासमा भने सवारीसाधनको अभाव र सडकहरू भत्किनुलगायत समस्याका कारण अवरोध निम्तिरहेको छ। संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसले विपत्तिको पूर्ण हद अझै ‘हाम्रो आँखा अगाडि देखा परिरहेको” चेतावनी दिए। विशेषगरी लामो समयदेखि जारी गृहयुद्धले ध्वस्त पारेको सिरियाको स्थितिमा उनले जोड दिए।

विहीवार इडलिब प्रान्तको बाब अल(हवा क्रशिङ हुँदै उत्तर-पश्चिम सिरियामा पहिलो संयुक्त राष्ट्र सङ्घीय मानवीय सहायता पठाइएको छ। सिरियाली सरकार पक्षधर सेना नियन्त्रित क्षेत्रहरूमा नपुगी संयुक्त राष्ट्र सङ्घको सहायता प्रभावित क्षेत्रमा पुग्ने एक मात्र बाटो उक्त क्रशिङ हो। गुटेरसले थप सहयोगको पठाउने प्रतिबद्धता जनाए र उनले संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्लाई एकभन्दा बढी सीमामार्फत सहायता पठाउने अनुमति दिन आग्रह गरे।