काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा आयोजना हुँदै आएको सार्क राष्ट्रका परराष्ट्रमन्त्रीहरूको बैठक यस वर्ष पनि हुन नसकेको परराष्ट्रमन्त्री एनपी साउदले बताएका छन्। दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कमा दक्षिण एशियाका आठ राष्ट्र सदस्य छन्। न्यूयोर्कबाट बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै मन्त्री साउदले सार्क राष्ट्रका केही देशहरूले उक्त बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएको बताएका हुन् ।
परराष्ट्रमन्त्री साउदले बैठकमा उपस्थित नहुने जानकारी गराएका देशहरूको नाम भने खुलाएनन्। “सार्क र बिमस्टेकका साइडलाइन बैठकहरू तय गरिएको थियो। तर हाम्रा सबै सदस्य राष्ट्रहरू त्यो बैठकमा उपस्थित हुन नसक्ने जानकारी हामीले पाएका छौँ,” मन्त्री साउदले भने। “सहमतिले मात्रै सम्पन्न हुन सक्ने यस्ता बैठकहरू तत्काल हुन कठिन भएको छ।” सन् २०१४ मा नेपालमा १८औँ सार्क शिखर सम्मेलन भएयता सार्कको नेतृत्व हस्तान्तरण हुन सकेको छैन ।
नेपालपछि १९औँ सार्क शिखर सम्मेलनको आयोजना गर्ने पालो पाकिस्तानको भए पनि सन् २०१६ को अन्त्यतिर जम्मु–कश्मीरको उरीमा आफ्ना सैनिकहरूमाथि भएको आक्रमणको दोष पाकिस्तानलाई लगाउँदै भारतले त्यसपछिको शिखर सम्मेलन गर्न चासो दिएको छैन। सार्कका गतिविधि सुस्ताउँदै जाँदा पाकिस्तान, माल्दिभ्स र अफगानिस्तानबाहेक दक्षिण एशियाली र दक्षिणपूर्वी एशियाली राष्ट्रहरू सदस्य रहेको बिमस्टेक सक्रिय हुँदै गएको छ। लामो समय बडापत्रबिनै रहेको यो सङ्गठनले गत वर्ष पारित गरेको बडापत्र विभिन्न देशहरूले अनुमोदन गरिरहेका छन्।
यसअघि सन् २०१९ महासभाका बेला सार्कका मन्त्रीहरूको बैठक भएयता कोभिड महामारीका कारण त्यस्ता बैठकहरू भएका छैनन्। भारत र पाकिस्तानबीचको असमझदारीका कारण पछिल्ला वर्षहरूमा सार्क निष्क्रियजस्तै भएको छ। यसअघि कोभिड महामारीको समयमा सार्कमार्फत् भारतले आयोजना गरेको सरकार प्रमुखस्तरीय भर्चूअल बैठकमा पाकिस्तानले प्रधानमन्त्रीका सल्लाहकारलाई उपस्थित गराएको थियो। सार्कको अध्यक्षका हैसियतले सार्क राष्ट्रहरूका परराष्ट्रमन्त्रीहरूको बैठकका लागि नेपालले प्रयास गर्दै आएको थियो।