पाकिस्तानले गर्यो नयाँ शक्तिशाली रकेट परीक्षण, भारत चिन्तित

file

काठमाडौं । पाकिस्तानले केही दिनअघि एकैपटक धेरैवटा क्षेप्यास्त्र प्रक्षेपण गर्ने क्षमता भएको फतह–२ रकेट सफलतापूर्वक परीक्षण गरेको छ। पाकिस्तानी सेनाको जनसम्पर्क विभाग आईएसपीआरका अनुसार यो रकेट ४०० किलोमिटरको दूरीसम्म प्रहार गर्न सकिन्छ र यसमा लक्ष्यभेदन गर्न सक्ने क्षमता छ। यसअघि पाकिस्तानले सन् २०२१ को अगस्ट २४ मा परीक्षण गरेको थियो। आईएसपीआरका अनुसार ‘फतह-२’ क्षेप्यास्त्र प्रणालीमा उडानको आधुनिक क्षमता र लक्ष्यभेदन गर्न सघाउने प्रविधि प्रयोग गरिएको छ।

लक्ष्यभेदनका लागि उन्नत प्रविधि प्रयोग गरिएकाले फतह–२ फरक क्षेप्यास्त्र भएको आईएसपीआरको तर्क छ। यो क्षेप्यास्त्रको सम्पर्क भूउपग्रहसँग हुन्छ र हावामा उडान गर्न सक्ने यसको क्षमताका कारण यो अझै बढी प्रभावशाली बनेको छ। आईएसपीआरका अनुसार प्रक्षेपण गरेपछि यो क्षेप्यास्त्र चुक्दैन।

सैन्य अस्त्र र सामग्रीका विशेषज्ञका अनुसार फतह-२ ‘फ्ल्याट ट्र्याजक्टरी भिअकल’ हो। अर्थात् रेडारले यसलाई पत्ता लगाउन सक्दैन। रक्षा मामिला विशेषज्ञ ब्रिगेडियर (अवकाशप्राप्त) साद मोहम्मदले बीबीसीसँग कुरा गर्दै फतह २ फ्ल्याट ट्र्याजक्टरी भिअकल भएको र यसलाई रेडारमा देख्न र नष्ट गर्न असाध्यै कठिन हुने बताए।

“बलिस्टिक क्षेप्यास्त्रको आफ्नो बाटो हुन्छ। त्यो हावामा जान्छ र त्यहाँबाट फेरि जमिनमै फर्किएर आउँछ। त्यो अवधिमा शत्रुपक्षको रेडारले क्षेप्यास्त्र पत्ता लगाउँछ र जबाफी कारबाही गर्छ जबकि त्यसको ट्र्याजक्टरी (प्रक्षेपमार्ग) फरक हुन्छ।”

केही विशेषज्ञका अनुसार फतह २ को सफल परीक्षणपछि भारतको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीसँग जुध्न यो एक प्रभावकारी हतियार बनेको छ। तर भारतले केही समयदेखि आफ्नो क्षेप्यास्त्र प्रणालीलाई झन् राम्रो बनाइरहेको कुरा यहाँ बिर्सिन हुँदैन।

भारतले आफ्नो रक्षाप्रणालीमा लामो दूरीसम्म पठाउन सक्ने एस-४०० ट्रायम्फबाहेक स्थानीय स्तरमा निर्मित र कम दूरीसम्म पुग्ने समर र डीआरडीओले बनाएको भीशोराड्स क्षेप्यास्त्र पनि समाविष्ट गरेको छ। यो क्षेप्यास्त्रले एकदमै कम दूरीमा रहेको लक्ष्यलाई निसाना बनाउन सक्छ।

द टाइम्स अफ इन्डियाका अनुसार भारतले ‘एल आर साम को नामबाट क्षेप्यास्त्र प्रणाली निर्माण गरिरहेको छ। यो प्रणाली रुसको एस ४०० ट्रायम्फ रक्षाप्रणालीजस्तै हो। यो प्रणालीबाट लामो दूरीसम्मको निगरानी गर्न र रेडार नियन्त्रण गर्न सकिन्छ। त्यसै गरी यसबाट १५० किमि, २५० किमि र ३५० किमिको दूरीमा वास्तविक समयमै क्षेप्यास्त्र पत्ता लगाउन र त्यसलाई नियन्त्रणमा लिने क्षमता पनि हुने छ।
बीबीसीको सहयोगमा