काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीले २०५२ साल फागुन १ गतेदेखि जनयुद्धको थालनी गरेको आज २८ वर्ष पुगेको छ । यो सशस्त्र द्वन्द्व २०६३ सम्म चलेको थियो । युद्धको अवधिमा यो सशस्त्र द्वन्द्वकालको रुपमा परिचित थियो । यस दिनको सम्झनामा सरकारले दिएको सार्वजनिक बिदा सर्वोच्च अदालतले खारेज गरिदिएको छ । तर, माओवादी घटकहरुले भने यो दिनलाई विेशेष रुपमा मनाउने गरेका छन् ।
तत्कालिन नेकपा–माओवादीले यस आन्दोलनलाई २०५२ फागुन १ गते नेपाली राजतन्त्रलाई समाप्त र जनगणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ सुरुवात गरेको थियो । विसं २०६३ साल मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेसँगै यो युद्ध समाप्त भएको थियो ।
यस युद्धमा नागरिक, विद्रोही, सेना र प्रहरीलगायतका १७ हजारभन्दा बढी व्यक्तिको ज्यान गएको थियो । वि।सं २०४६ सालमा निर्दलीय पञ्चायती शासनको अन्त्य हुँदै बहुदलीय व्यवस्था आएको थियो । तात्कालीक समयको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र यसको वैधानिक मञ्च संयुक्त जनमोर्चा र अन्य सङ्गठनहरूले राजतन्त्रको विरुद्धमा विभिन्न कार्यक्रमहरु गर्दै आएका थिए । सशस्त्र द्वन्द्वको माध्यमबाट राजतन्त्रको अन्त्य गर्नु र नयाँ जनवादी व्यवस्था कायम गर्ने उद्देश्कासाथ जनयुद्धको घोषणा २०५२ साल फागुन १ गते भयो । विद्रोह सुरु गर्नु अगाडि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग ४० बुँदे माग राख्दै जनयुद्धको घोषणा गरिएको थियो ।
रोल्पा, रुकुम, सिन्धुली, रामेछाप लगायतका पहाडी जिल्लामा आधार इलाका बनाएको माओवादीले देशव्यापी रूपमा विभिन्न स्थानमा रहेका प्रहरी चौकी, साना किसान बैंक र सरकार अन्य संयन्त्रमा आक्रमण गरेको थियो । जनयुद्धको प्रभाव देशव्यापीरुपमा पर्न गएको थियो जसका कारण तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सङ्कटका लागू गरेर अगाडि बढेको थियो । युद्धरत नेताहरुको टाउकाको मूल्यसमेत तत्कालीन सरकारले निर्धारण गरेको थियो ।