काठमाडौं । दिल्लीबाट पहिलो विदेश भ्रमणको सुरुवात गरेकी नेपाली परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतीय संस्थापन पक्षले ‘उच्च महत्त्व’ दिएको टिप्पणी सुनिएको छ । नेपाली सञ्चारमाध्यमले समेत सोही तर्फ संकेत गर्दै समाचार बनाइरहेका छन् । आफ्ना समकक्षी एस जयशङ्करसँग सोमवार औपचारिक छलफल गरेकी परराष्ट्रमन्त्रीले त्यही दिन साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता पनि गरेकी थिइन् ।
नेपालका परराष्ट्रमन्त्रीले भारतको भ्रमण गर्दा भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने अवसर हतपत नपाउने गरेको सन्दर्भ र उनलाई मोदीले दिएको महत्वलाई उच्च प्राथमिकताका साथ हेरिएको छ । यस पटक दिल्लीले नेपालबाट थप २५१ मेगावट विद्युत् खरिद गर्ने घोषणा गरेसँगै आगामी दिनमा नेपालले १,००० मेगावाटसम्म विद्युत् निर्यात गर्न सक्ने परिस्थिति बन्नुलाई अर्थपूर्ण मानिएको छ।
परराष्ट्रमन्त्री आरजु राणा देउवा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी हुन्। आफ्नो स्वास्थ्य परीक्षणसहितको कार्यसूची बनाएर पाँचदिने भ्रमणमा आरजु राणा देउवा दिल्ली गएकी छिन् । भारतीय विदेश मन्त्रालयले उनको भ्रमणलाई नेपाल र भारतबीचको उच्चस्तरीय आदानप्रदानको शृङ्खला भनेको छ। उसले छिमेक पहिला विदेश नीतिअन्तर्गत नेपाल प्राथमिकताप्राप्त साझेदार भएको बताउने गरेको छ।

पहिलो पटक नेपालको परराष्ट्र मन्त्रालय हाँकिरहेकी आरजु राणा देउवाले आफ्ना भारतीय समकक्षी जयशङ्कर र प्रधानमन्त्री मोदीसँग द्विपक्षीय सम्बन्धका विविध पक्षबारे छलफल गरेकी बताइएको छ। नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जारी गरेको विज्ञप्तिका अनुसार परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्रीलाई पठाएको नेपालको राजकीय भ्रमणको निम्तो हस्तान्तरण गरेकी थिइन्।
भारतीय प्रधानमन्त्रीले उक्त आमन्त्रणलाई स्वीकार गरेको र द्विपक्षीय कूटनीतिक माध्यमबाट आपसी अनुकूलतामा तय गरिने मितिमा नेपालको भ्रमण गर्ने प्रतिबद्धता जनाएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। भारतीय विदेशमन्त्री जयशङ्कर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालसहित उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा मोदीले नेपाली परराष्ट्रमन्त्रीसँग कुराकानी गरेका थिए। नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका अधिकारी र भारतस्थित नेपाली राजदूतावासका अधिकारीहरू उक्त भेटवार्तामा उपस्थित थिए।
मोदीले सामाजिक सञ्जाल ुएक्सुमा लेखेका छन्, “भारत र नेपालबीच सभ्यतागत निकट सम्बन्ध र प्रगतिशील अनि बहुआयामिक साझेदारी छ। हाम्रो विकास साझेदारी निरन्तर अघि बढिरहेको हेर्न चाहन्छु।” नेपाली परराष्ट्रमन्त्रीले एक्समा लेखेकी छन्, “म अपेक्षा गर्छु कि यो भ्रमण र अन्य उच्चस्तरीय भ्रमणहरूले दुई देशबीचको हाम्रो सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने छ।”