काठमाडौं । बढ्दो जलवायु संकट सम्बोधन गर्ने उद्देश्यले अजरबैजानको राजधानी बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–२९) सुरु भएको छ । सम्मेलनका क्रममा आगामी दुई साता विश्वका करिब २ सय देशका नेताहरूले जलवायु संकटको सामनाका विषयमा केन्द्रित रहेर छलफल गर्नेछन् । सम्मेलनले पछिल्लो समय बढ्दो विश्वव्यापी तापक्रमका कारण उत्पन्न प्रतिकूल मौसमी घटनालाई विश्वव्यापी समाधानका लागि सहभागी देशलाई एकताबद्ध बनाउने राष्ट्रसंघले जनाएको छ ।
जलवायु परिवर्तनको प्रभावबाट जीवन रक्षा गर्न खर्बौं डलर आवश्यक रहेकाले कोप–२९ खासगरी आर्थिक मामलामा केन्द्रित हुने तथा देशहरूलाई हरित गृह ग्यास उत्सर्जन घटाउन आव्हान गर्ने जनाइएको छ । यस वर्षको सम्मेलन नयाँ वित्तीय प्रतिबद्धतामा केन्द्रित छ । जसलाई ‘न्यु कलेक्टिभ क्वान्टिफाइड गोल ९एनसिक्युजी०’ नाम दिइएको छ । सम्मेलनमा एनसिक्युजी वा ‘फाइनान्स कोप’ भनेर चिनिने नयाँ लक्ष्यबारे सम्मेलनमा छलफल हुने र यो सन् २०२५ देखि प्रभावकारी हुने लक्ष्य राखिएको छ ।
जलवायु वित्तसम्बन्धी स्वतन्त्र उच्चस्तरीय विशेषज्ञ समूहको सन् २०२२ को प्रतिवेदनअनुसार विकासशील देशहरूलाई जलवायु वित्त आवश्यकताहरू कोप–२९ को मुख्य उद्देश्य जलवायुसम्बन्धी चुनौतीहरूको सामना गर्ने कमजोर देशहरूलाई सहयोग गर्न वित्तीय लक्ष्यहरूमा सम्झौताहरू सुरक्षित गर्नु हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २९ औं सम्मेलन (कोप–२९) मा सात महत्त्वपूर्ण विषयहरूलाई उठाउने भएका छन् । सम्मेलनमा भाग लिन नेपाली टोलीको नेतृत्व गर्दै राष्ट्रपति पौडेल आइतबार बाकु गइसकेका छन् ।
राष्ट्रपति पौडेलले हिमालको सुरक्षा, जलवायु वित्तमा प्रतिबद्धता अनुसारको रकम, हानी–नोक्सानी कोषको शीघ्र सञ्चालन, नेपालजस्ता मुलुकहरूलाई जलवायु वित्तमा सहज पहुँच, कम कार्बन उत्सर्जन गर्ने मुलुकलाई क्षतिपूर्ति, कार्बन उत्सर्जन गर्ने मुलुकबाट प्रभावित नेपालजस्ता मुलुकले जलवायु परिवर्तनको सामना गरी पर्यावरणलाई बचाइ राख्न परम्परागत पोखरी र कुवालाई पुनर्जीवित गर्ने विषय उठाउने बताइएको छ ।
राष्ट्रपति पौडेलले नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मंगलबार सम्मलेनलाई सम्बोधन गर्दैछन् । उनले बुधबार नेपालले आयोजना गर्ने महत्वपूर्ण सत्रको नेतृत्वसमेत गर्ने कार्यतालिका छ । भ्रमण टोलीमा उनको सचिवालयका सदस्य, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र मन्त्रालयका सदस्यहरू तथा परराष्ट्र सचिव सेवा लम्सालसहितका अधिकारी छन् ।