अध्ययन भन्छ : नेपालमा साइबर ठगी बढ्यो

काठमाडौं । नेपालमा ठगी सम्बन्धी शंकास्पद कारोबार र गतिविधिमध्ये ६४ प्रतिशत साइबर आर्थिक ठगीका घटना हुने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाइले ‘स्ट्राटेजिक एनालाइसिस रिपोर्ट २०२४’ सार्वजनिक गर्दै उक्त जानकारी गराएको हो ।

इकाइले आफ्नो प्रतिवेदनमा साइबर प्रविधिमा आधारित ठगीका विशेषता र साइबर ठगीका माध्यमबाट प्राप्त हुने सम्पत्ति शुद्धीकरणमा प्रयोग गर्ने पद्दतिका विशेषता विश्लेषण गरेको छ । प्रतिवेदन अनुसार नेपालमा ठगी सम्बन्धी शंकास्पद कारोबार र गतिविधिमध्ये प्रायः नेपाल प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गर्ने गरेको छ । साथै, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग मार्फत समेत अनुसन्धान हुने गरेको छ ।

३० वर्षभन्दा कम उमेरका युवा र त्यसमा पनि विद्यार्थी साइबर ठगीमा बढी संलग्न हुने गरेको देखिन्छ । विभिन्न निकायबाट भएको अनुसन्धानले साइबर माध्यमबाट हुने ठगीमा कम उमेरका युवा संलग्न रहने गरेको देखाउँदा विशेषगरी विद्यार्थी र विभिन्न संस्थामा कार्यरत कर्मचारी साइबर ठगीमा संलग्न हुने गरेको अनुसन्धानबाट खुल्ने गरेको छ ।

वित्तीय जानकारी इकाइ प्रतिवेदनले १९–२४ वर्ष उमेर समूहका साइबर आधारित ठगीमा धेरै संलग्न हुने गरेको देखाएको हो । साइबर ठगीमा संलग्नमध्ये २५–३० वर्ष समूहका २१ प्रतिशत छन् । यस्तो ठगीमा प्रत्यक्ष वा अप्रत्यक्ष ७० प्रतिशत संलग्न ३० वर्ष वा त्यसभन्दा कम उमेरका छन् ।

प्रतिवेदन अनुसार ठगीमा संलग्नको बैंक खाता समेत धेरैजस्तो विद्यार्थीको हुने गरेको छ । साइबर ठगीमा प्रयोग भएका खातामध्ये सबैभन्दा बढी ‘विद्यार्थी’ पेसा उल्लेख हुने गरेको छ । त्यसपछि विभिन्न संस्थाका ‘कर्मचारी, ‘किसान’, ‘पसल मालिक’, ‘गृहिणी’ र ‘बेरोजगार’ जस्ता अन्य महत्त्वपूर्ण पेसा पनि बैंक खाता विवरणमा उल्लेख हुने गरेको छ ।