प्रेमकृष्ण श्रेष्ठ
२० असार, काठमाडौं । हालै एक ग्रामीण समाजमा एक निकै दुःखदायी घटना घट्यो । श्रीमानले बाहिर अर्कै स्त्रीसँग प्रेम गरेर हिंडन थालेपछि श्रीमतीले त्यस्तो नगर्न आग्रह गरिन् । श्रीमान्लाई यो कुरा पाच्य भएन । उनी हिंसामा उत्रिन थाले । सहन नसकी श्रीमती दुईचार निलडाम लिएर माइत गइन् । छोरीलाई आमाले ‘श्रीमान् भनेको भगवान् हो । तिम्रो कर्मघर नै अब तिम्रो घर हो । अब तिमी त्यही घरमा मिलेर बस्नुको विकल्प छैन’ भनेर सम्झाई पठाएको एक हप्ता नबित्दै छोरीले जीवनसित हार खाई ।
जन्मघर र कर्मघरले पनि वास नदिएपछि सडकमा वास लिन पुगिन् । दिनभरि त सडकमा वास बसी । साँझ सडकले पनि लेखेटेपछि त्यही सडकको तल बगिरहेको खोलामा आफ्नो प्राण फाल्यो । यो एक प्रतिनिधि घटना थियो । यस्तो घटना कति घटिरहेको होला, हामी सहजै अनुमान गर्न सक्छौं ।घर–घरमा स्वस्थानीको कथा वाचन हुन अब केही महिना मात्र बाँकी छ । फेरि सुरु हुन्छ गोमा ब्राहणीको कथा । गाउँघरमा आमाहरुका आँखा चिसा हुने दिन फेरि आएको छ ।
यस्तो कथाको गहिरो प्रभाव पर्दछ, हाम्रो समाजमा । ‘जे भोग्यो, त्यो ईश्वरको देन हो’ भनी यो संसारमा पीडा थाप्ने कोही छ त, त्यो नारी नै हो । यसैको फलस्वरुप, हिंसाको भोगाइ पनि कर्ममा मिसाउँदै आएको छ, धेरै नेपाली सोझासिधा नारीले ।
एक शताब्दीअघिसम्म नेपालमा सतिप्रथा थियो । एक पुरुषको मरणमा बीस, तीस नारीसम्म लहरै सति गएको हामीले सुनेका छौं ।
राजा योगनरेन्द्र मल्लको एक मृत्युमा २४ उनका रखौटीसहित अरु ९ जना निर्दोष महिलाहरुको सतिको नाममा स्वेच्छिक र अस्वेच्छिक हत्या भयो । जङ्गबहादुर राणाको मृत्युमा ४२ जना, पार्थिवेन्द्र मल्लको मृत्युमा २४ जना, राजा श्रीनिवासको मृत्युमा ९ जना, प्रताप मल्लको मृत्युमा ९ जना, नृपेन्द्र मल्लको मृत्युमा ९ जना स्त्रीहरु तथा राजा महेन्द्र मल्ल र जगतप्रकाश मल्लको मुत्युमा पनि धेरै स्त्रीहरु सति गएका थिए भनी इतिहासमा वर्णित छ ।
त्यो कालो युग खोतलेर, सतिको गिन्ती गरेर साध्य छैन । त्यो बेला मानौं, पुरुषको अस्तित्व नहुँदा नारीको अस्तित्वको कुनै अर्थ थिएन । लेखाजोखा छैन, तर यही कुसंस्कारलाई आस्थाको नाममा पछ्याउँदै लाखौं नारीहरु जिउँदै चितामा डढे होलान्, हामी अनुमान लगाउन सक्छौं । पछि आएर चन्द्र शम्शेरले यो विकृति हटाए पनि पुरुषप्रधान समाजले नारीलाई सेतो वस्त्रमा गुट्मुटाएर जीवनभर रंग वर्जित बस्नुपर्ने अवस्थाको आजपर्यन्त साक्षी छौं ।
हिजोको भन्दा आजको समय परिवर्तन भइसकेको छ । शिक्षाको पहुँचले सहरमा बसोवास गर्ने धेरैजसो नारीले महिला हिंसाको पूर्णतः परिभाषा बुझिसकेका छन् । त्यसैले उनीहरुलाई पुरुषबाट थोपरिने कुनै पनि अन्याय र अत्याचार मान्य छैन । तर, अझै पनि नेपाली ग्रामीण भेगमा बसोवास गर्ने नारीलाई हिंसाको बारेमा जानकारी छैन । जानकार भएर पनि पिछडिएको समाजको दबाब छ उनीहरुलाई ।
उनीहरु आज पनि पुरुष हिंसालाई सहन्छन् र सहिष्णुताकी देवी बनिरहेकी छन् ।
आज निकै प्रचारित शब्दावली हो– महिला हिंसा । वास्तवमा महिला हिंसा के हो ? व्यक्तिअनुसार परिभाषा फरक हुन्छ । महिलामाथि हुने हिंसा नै महिला हिंसा हो भनेर परिभाषालाई सरलीकृत गर्न सकिन्छ । आजको समयमा महिला हिंसाको बारेमा बुझाएर मात्र पुग्दैन, त्यसको संवैधानिक र कानुनी उपचार पनि नारीलाई बुझाउनु पर्छ । केवल ब्यानर बनाएर भित्तामा टाँस्दैमा, दुईचार नारीलाई महिला हिंसाको नारा लेखेको टोपी ओढाउँदैमा अभियानले सार्थकता पाउँदैन । अभियान तब सफल हुन्छ, जब कोही रजस्वला भएको महिलालाई गोठमा चितुवाले खाँदैन । गलत छुवाई मात्र होइन, गलत नजरले पनि हेर्दैन ।
महाभारतकालीन समयमा महिलाहरु बच्चा जन्माउने मेसिन मात्र थिए । पुरुषहरु युद्ध गरी सन्ध्यामा घर आउँथे र युद्धको सारा तनावलाई महिलाको शरीर भोग गरी हल्का हुन्थे । महिलामाथि जस्तो अत्याचार हुँदा पनि सहनु पथ्र्यो । त्यतिबेला नारीमाथि शोषण गर्न पल्केका केही पुरुषले ‘जहाँ स्त्री, त्यहाँ श्री’ भनी नारीलाई पूजाको थाली समाउन दिई, नारीभित्र धार्मिक आस्था हुर्काई पञ्चकन्याको कथा श्रवण गराइयो । आज पनि सोझासिधा नारीमाथि हिंसाले मलजल पाउनुमा त्यही धार्मिक आस्थाले जरो गाडेर बसेको छ ।
उनीहरुले थुप्रै्र धार्मिक आस्थाका पात्रहरुका कथा पढेका छन् । धृतराष्ट्रले संसार देख्न नसक्दा जीवनभरि कपडाको टालोमा आँखा बाँधेकी गान्धारीको कथा मात्र होइन, पतिव्रतामा लागेको दाग धुन अग्नीमा दहन भएकी सीताको कथा, यज्ञको बोकाको टाउकोरुपी आफ्नो पति स्वीकार गर्ने विरणीको कथा, सात वर्षकी कन्या भएर पनि सतरी वर्ष बुढोसँग विवाह—बन्धनमा बाँधिएर पनि मेरो कर्म यस्तै हो भनी आफ्नो कर्मलाई दोष दिने गोमा ब्राहाणीको कथा, आफ्नो पतिको जुवामोहका कारण दरबारको सभामा लज्जित बनेकी द्रौपदीको कथा, यस्तै थुप्रै कथाले गर्दा महिलाको निम्ति ‘पति नै सर्वस्व हो, उनीहरुले जे गर्दा पनि त्यसको प्रतिफल नारीले भोग्नुपर्छ’ भनी सन्देश लिइरहेका छन् । धर्मप्रति चरम आस्थाका कारण पतिव्रता धर्मका सम्पूर्ण शर्तहरु उनीहरुलाई मान्य छन् । यसकारण आज पनि कैयन नारीले सीता, द्रौपदी, गोमा र विरणीका कथाहरु दो¥याइरहेका छन् ।
त्यो समयमा पुरुषसँग समान हुन नारीले सबै असमानता चुँड्नु पर्ने, तर पुरुषले केही गर्नु नपर्ने । फलस्वरुप, आज पनि विधवा महिलाले एक वर्ष सेतो सारी लाउनुपर्ने, पुरुष रंगीचंगी भएर हिंड्न पाउने व्यवस्था त्यसैको अवतरण हो । यो हो धार्मिक आस्थाको बलमा नारीमाथि पुरुषको पहिलादेखिको शोषणको अनुपम नमुना । आजका एक्काइसौं शताब्दीका नारीले हिजोका नारीसँग पुर्पुरो जोड्नु ठीक होइन । उनीहरुले भोगेको शोषण आजका नारीले भोग्नुपर्छ भन्ने छैन ।
आज पनि गाउँघरतिर सानैमा कुनै कन्याको विवाहबारी भएको छ भने गाउँलेहरु ‘के गरुँ गोमा ब्राहाणीको कर्म लिएर आएकी रहिछ’ भनेर मन बुझाउने छन् । सबैले बालविवाह गर्नु अपराध हो भनेर त्यस्तो विवाहलाई निषेध गरेको भए के आज पनि कुनै बालिका गोमा बन्थी ?
गोमाको कर्मसँग ती बालिकाहरुको कर्म जोडिएरै आज पनि थुपै्र गोमाहरुको शिवशर्मा ब्राहाणहरुसित लग्न जुरिरहेको छ । फेरि अर्को कुरा, पतिव्रता धर्मपतिको पाउमा रसिएर आउने जल होइन यो सबैले बुझेको कुरा हो । धार्मिक आस्थाले कतिपय महिलाले अझै पनि तीजको दिन पतिको पाउको पानीलाई गङ्गाजल नै सम्झेर सेवन गर्नेहरु छन् । यस्तो आस्थाको कारण पतिहरुबाट हुने हरेक अन्याय र अत्याचार नेपाली महिलाका लागि सह्य बन्छ । पत्नीले पतिलाई सम्मान गर्नुपर्छ, तर खुट्टा पखालेको पानीलाई गङ्गाजल सम्झेर होइन ।
धार्मिक कथामा आशंका छैन । त्यो युगयुगान्तरको कथा थियो । आज समय परिवर्तित छ । त्यसैले आज धार्मिक आस्थाले कमजोरी पाल्ने होइन, शक्ति सँगाल्ने यत्न गर्नुपर्छ । नारीले पुरुषको अस्तित्वको मोल बुझेजस्तो पुरुषले पनि नारीको अस्तित्वको मोल बुझ्नुपर्ने आजको समयको शर्त हो । नारीको अस्तित्वबिना पुरुषको अस्तित्व सम्भव छैन । भगवानले एउटा पुरुषको जीवनमा आमा, पत्नी र छोरीको अस्तित्व त्यत्तिकै सृजना गरेको होइन । आजको समयमा नारीको अस्तित्व केवल भोगका लागि होइन भन्ने कुरा बुझ्नुपर्छ, बुझाउनुपर्छ ।