आरएल श्रमजीवी
अमेरिकी सपना त्याग्नु परेको परिस्थितिको निरन्तरता स्वरुप मामाले मलाई न्यूयोर्कको जेएफके एयरपोर्ट जाने एयर ट्रेनमा बिदाइ गरेपछि म एक्लै भएँ । सकी–नसकी लगेज घिसार्दै एयरट्रेन समातेर टर्मिनल ८ मा उत्रिएँ । धेरै बेर लगाएर आफैंले अनलाइनबाटै बर्डिङ्ग पास निकालेर चेक इन गर्न लाइनमा बसेको मात्रै थिएँ । अचानक बनेपाको राधाप्यारी नकर्मीको स्वर जस्तो लाग्दालाग्दै उहाँको सामुन्ने पुगें । मास्क खोल्दै नमस्कार दिदी भनें । हतार–हतार दिदीले आफ्नो बर्डिङ्ग पास चेक इनको ड्युटी अर्कोलाई जिम्मा लगाउँदै ।
आरएल कसरी यहाँ ?
कहाँ जान लाग्नु भो ?
मलाई उभिन र सास फेर्न गाह्रो भइरहेको थियो । दिदी व्यस्त भएको र मैले मास्क लगाएकोले थाहा हुने कुरै भएन । मैले नजिकैको मेच देखाउँदै बसेर कुरा गरौं भने । दिदीले घरपरिवार र बनेपाको पछिल्लो अपडेट गराउँदै गर्दा मैले उहाँलाई बर्डिङ्ग पास देखाएँ । ए टाइम भएछ भन्दै मलाई छोटो लाइन बिजनेस क्लासको लाइनबाट पास हुन इशारा गर्नुभयो । मैले सेक्युरिटीलाई पासपोर्ट र कार्ड देखाएर फ्लाइटभित्र छिरें ।
फ्लाइट उड्नु अघि नै मेरो मन उडेर कहिले बनेपा पुग्थ्यो त कहिले युरोप । छाती दुखेको थियो । खुट्टा गलेका थिए, तर मन–मस्तिष्क भित्र अनेकौं पात्र र चरित्रले प्रभावित पारेका थिए । फ्लाइटभित्रको सीटमा बसेपछि थकान र केही आराम भएकाले म कुन बेला निदाएँ थाहै भएन । एयर होस्टेजले डिस्कुपा (माफ गर्नुस्) भन्दा पो थाहा भयो, खाना खाने बेला भएछ । भोक थियो तर पोर्चुगिस एयरलाइन्सको पोर्चुगिस खाना त्यति मिठो थिएन । खानापछि झोला झिकेर खोकीको औषधि खाएर म फेरि निदाएँ ।
फ्लाइट उडेको ९ घन्टापछि लिस्बोन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याप एयर अवतरण भयो । बस्ने टुंगो नभएको म ट्याक्सी लिएर चिनेजानेको नेपालीको होस्टल पुगें । भोलि पल्ट नुवाकोटका राजन खनाललाई फोन लगाएर बस्ने वासको व्यवस्था गरें । युरोपमा कोरोना महामारीको त्रास अमेरिकाको भन्दा बढी रहेछ । मास्क अनिवार्य लगाउनुपर्ने । पार्कमा होस् वा बस र ट्रेन स्टेसन भिडभाड गर्न नहुने नियम थियो । सबै सुपर स्टोरहरु निश्चित समयमा खुल्थे, बजार प्रायः बन्द थिए । ट्रेन र बस थोरै मात्रामा चलेका थिए । मान्छेहरु जरुरी कामबाहेक घरबाट निस्कँदैन थिए । म ह्याण्ड ब्याग बोकेर लगेज घिसार्दै ट्याक्सी लिएर बुढाबुढी पार्क नजिकै राजन खनालको कोठामा पुगें । उनले रित्तो खाट देखाए ।
दिनको दुई बजेको थियो । जाडो धेरै थियो । मैले भिक्षुको पहिरन रङ्गको जस्तो ओढ्ने ब्यागबाट झिकेर ओढेर खाना नखाई सुतें । खोकी लागिरहेको थियो । रातभरि खोक्दा राजनको निद्रा बिग्रिएछ । बिहान उठनासाथ दाइ यार, धेरै पो खोक्नु भो । कोरोना त भएको छैन ? हस्पिटल जानुस् । म दिनदिनै झन्–झन् गल्दै गएको थिएँ ।
हस्पिटल होइन नजिकैको फार्मेसी जाउँ न । खोकी र ज्वरोको औषधि खाँदा ठीक होला भनेर राजन र म फार्मेसी गयौं । फार्मेसीमा प्रवेश मनाही थियो । झ्यालबाट ठूलो स्वरमा बोलेर औषधि मागियो । क्यास भुक्तानी नलिने भनेपछि कार्डबाट नै भुक्तानी गरियो । बिहान चिकेन करी र भात खाइयो बेलुका बिहान पकाएको खाना र औषधि खाए पनि खोकी बीसको उन्नाइस पनि भएन । राजनलाई म भारी लागेको जस्तो मैले बुझेको थिएँ ।
लगातार खोकेको हुनाले ओल्लो कोठा र पल्लो कोठामा बस्ने डेरावालहरु म देखेर त्रसित थिए । उनीहरुका आँखाले भन्थ्यो कि मैले कोरोना बोकेर ल्याएको छ । अब कोरोनाले यो त मर्छ–मर्छ हामीलाई सारेर हामी पनि मर्ने भयौं भन्ने कुरा मैले सुन्दा मलाई नमिठो लाग्यो । कोठामा आएको पर्सिपल्ट बाथरुममा मैले रगत छादे । रगत पाछ्पुछ गर्दा पनि राम्रोगरी सिन्क ट्यापमा सफा भएन छ । फ्ल्याट भाडामा लिने अनिता कार्कीलाई थाहा भएछ । ओल्लो कोठा पल्लो कोठाका डेरावाल मिलेर मलाई कोठाबाट कसरी निकाल्ने मिटिङ बसेछ । म भने ट्याक्सी बोलाएर मार्तिमुनिजको साउजोओ जुजे हस्पिटल पुगिसकेको थिएँ ।
हस्पिटलको इमर्जेन्सी वार्डमा देखाउँदा मलाई कोरोनाको शंका गरियो । लगत्तै कोरोनाका बिरामीलाई तयार पारिएको वार्डमा अछुतझैं राखियो । चेकअप गर्न आउने डाक्टर र नर्स पूरै पिपी लगाएर अन्तरिक्षमा जान तयार यात्रु जस्ता देखिन्थे । मैले लगाएर आएका लुगा मोबाइल पर्स एउटा क्याबिनमा राख्न लगाइयो । हस्पिटलकै लुगामा मलाई आइसोलेसन वार्डमा राखेर जाँच्दा मलाई कोरोना नभएको पुष्टि भो ।
कोरोना नभएपछि लगत्तै मलाई अर्को एम्बुलेन्समा राखेर मलाई जुवाओ हस्पिटल पु¥याइयो जहाँ निमोनियाको राम्रो उपचार हुने रहेछ । त्यहाँ मलाई निमोनियाको उपचार सँगसँगै पूरै होलबडीको चेकअप थालियो । त्यतिबेलासम्म म सुन्निएर डमडम भएको थिएँ । शारीरिक अवस्था झन् गलेको थियो, बोल्न पनि गाह्रो हुन्थ्यो । मलाई एकैपल्ट दुई सलाइन दिएको याद छ त्यसपछि म बेहोस भएछु । म बिउँझदा पोर्चुगिस भाषामा डाक्टर नर्स भन्दै थिए– यो बिरामी होसमा आएर उठ्छ कि उठ्दैन ?
म उठ्दा सिनियर डाक्टरहरु जुनियर डाक्टरहरु मेरो वरिपरि थिए । सिनियर डाक्टरले जुनियर डाक्टरलाई मेरो रोगबारे भन्दै थिए, उनीहरु ध्यानपूर्वक सुनिरहेका थिए । मलाई तीन दिन भेन्टिलेटरबाट आईसीयु वार्डमा ल्याइएको रहेछ । भेन्टिलेटरमा हुँदा होसमा नआई यो बिरामी जान्छ कि भनेर उनीहरुलाई चिन्ता रहेछ । पोर्चुगलको मेरो ठेगाना त थियो आफन्त कोही छ कि छैन ? मरे कसलाई लास बुझाउने चिन्ता उनीहरुलाई परेको रहेछ । म होसमा आएपछि सिनियर र जुनियर डाक्टरहरु मेरा रोगबारे बताउनुभन्दा पनि मेरो ठेगाना घरपरिवारबारे सोधे । गम्भीर रोगहरु छन्, तिमीलाई केही भए हामीले तिम्रो लास कसलाई बुझाउनू ?
ओहो, के अब मर्दैछु र अनायास मेरो प्रश्न डाक्टरहरुलाई गएछ ।
होइन । होइन । हामी उपचार गरिरहेका छौं तर अहिले नै खतरामुक्त हुनुहुन्न, त्यसैले सोधेको ।
ज्या मेरो उमेर यत्ति नै रहेछ । भगवानप्रति भरोसा त मेरो छैन, तर पनि एक्कासि हे भगवान ४७ वर्षमै कसैले थाहा नपाउनेगरी मर्ने भएँ म । मनमा यस्तै कुराहरु आए । मैले मेरो मोबाइल पर्स र मेरो लुगा पहिला आएको हस्पिटलमा छुटेको कुरा बताए । मोबाइल भए कमसेकम मेरो अवस्था मेरो परिवारलाई बताउन पाउने थिएँ ।
परिवार कहाँ हो ? नम्बर दिनु हामी फोन गर्छौं उनीहरुले भने ।
मेरो यहाँ कोही छैन । भएका सबै नेपालमा छ्न ।
नेपाली कम्युनिटी त छ होला नि ?
नेपाली कम्युनिटी छ । भए पनि म मरेको तिनीहरुलाई थाहा नहोस् । बरु म मरेको फोटो खिचेर मेरो मामा र श्रीमतीलाई त्यो फोटो पठाइदिनु भनेर मैले कलम र कागज मगाउँदै नेपालको ठेगाना लेखेर दिएँ ।
हाल : लण्डन, बेलायत