सुडानमा हैजाको भयावह प्रकोप : एक सातामै ४० जनाको मृत्यु

File (AP Photo)

३० असार, काठमाडौं । सुडानको दार्फुर क्षेत्रमा फैलिएको हैजा महामारीका कारण पछिल्लो एक सातामै कम्तीमा ४० जनाको ज्यान गएको छ । डाक्टर बिना सीमा ९एमएसएफ० का अनुसार, पछिल्ला केही वर्षयताकै यो सबैभन्दा गम्भीर हैजा प्रकोप हो । एमएसएफले जनाएको अनुसार, युद्धग्रस्त दार्फुर क्षेत्र महामारीबाट सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँका स्वास्थ्यकर्मीहरूले सात दिनको अवधिमा मात्रै दुई हजार ३०० भन्दा बढी बिरामीको उपचार गरेका छन् ।

गत वर्षदेखि साउन २७ सम्म, देशभर हैजाका ९९ हजारभन्दा बढी शंकास्पद बिरामी दर्ता भएका छन्, जसमध्ये दुई हजार ४७० जनाले ज्यान गुमाइसकेका छन् । हैजा प्रदूषित खानेपानी मार्फत सर्ने रोग हो, जसमा अचानक पखाला र अत्यधिक कमजोरी देखिन्छ । समयमै उपचार नपाए केही घण्टामै ज्यान जाने खतरा रहन्छ । यद्यपि, यो रोग नुनपानी घोल र औषधिको सहायताले सजिलै नियन्त्रणमा ल्याउन सकिन्छ । तर, सुडानमा जारी द्वन्द्वका कारण लाखौँ मानिस विस्थापित भएका छन्, जसले शुद्ध खानेपानी र स्वास्थ्य सेवा पहुँचबाट वञ्चित भएकाले रोग फैलन सजिलो भएको एमएसएफले जनाएको छ ।

उत्तरी दार्फुर राज्यको ताविला क्षेत्रमा करिब तीन लाख ८० हजार विस्थापित जनता अत्यन्तै कठिन अवस्थामा जीवन बिताइरहेका छन् । त्यहाँका प्रत्येक व्यक्तिका लागि दैनिक पानीको उपलब्धता केवल तीन लिटर रहेको छ, जुन आपतकालीन मापदण्ड अनुसार आवश्यक ७।५ लिटरभन्दा आधा हो । शिविरभित्र रहेका धेरैले फोहोर पानी पिउनु परेको छ, शौचालयको सुविधा छैन, बालबालिकाहरू खुला स्थानमा दिसा गर्न बाध्य छन् । यस्तै दुःखद अवस्थाले हैजा अझ तीव्र रूपमा फैलिरहेको छ ।

विश्व स्वास्थ्य संगठन अनुसार, पछिल्लो डेढ वर्षमा सुडान हैजाबाट सबैभन्दा धेरै मृत्यु भएको देश बनेको छ । त्यहाँको मृत्यु दर २।१ प्रतिशत रहेको छ, जुन विश्व औसतभन्दा २।५ गुणा बढी हो । खार्तुममा नियमित सेनाले नियन्त्रण लिएको भए पनि हाल पुनः दार्फुर क्षेत्रमा भिडन्त चर्किएको छ । अर्धसैनिक बलहरू एल–फाशर शहर कब्जा गर्न खोजिरहेका छन्, जसले स्थिति झनै जटिल बनाएको छ ।

एमएसएफले चेतावनी दिँदै भनेको छ,“अहिले हैजा केवल शिविरहरूमा मात्र सीमित छैन, यो दार्फुरका विभिन्न स्थान हुँदै छिमेकी देशहरू—चाड र दक्षिण सुडानसम्म फैलिइरहेको छ ।” सुडानका लागि एमएसएफ प्रमुख तुना तुर्कमेनले भन्नुभयो,“यो केवल आपतकालीन अवस्था होइन, महामारी नियन्त्रणभन्दा बाहिर गइसकेको छ । युद्धबाट बचेका नागरिकहरू रोकथाम गर्न सकिने रोगले मर्नु दुःखद हो ।”