स्टकहोममा १७औँ शताब्दीको जहाज पुनः सतहमा

The remains of a 17th century shipwreck is pictured after resurfacing in Stockholm, Sweden, on February 17, 2026. A 17th century Swedish Navy shipwreck buried underwater in central Stockholm for 400 years has been visible above the surface since early February due to unusually low Baltic Sea levels. (Photo by Jonathan NACKSTRAND / AFP)

स्टकहोम, ६ फागुन (रासस–एएफपी) । बाल्टिक सागरको जलस्तर असामान्य रूपमा घटेपछि मध्य स्टकहोममा करिब चार सय वर्षदेखि पानीमुनि गाडिएको १७औँ शताब्दीको स्विडेनी नौसैनिक जहाजको भग्नावशेष फेरि सतहमा देखा परेको छ । लामो समयसम्म लुकेको इतिहास एकाएक उजागर हुँदा समुद्री पुरातत्त्वविद्हरूले यसलाई महत्त्वपूर्ण खोजका रूपमा लिएका छन् ।

क्यास्टेलहोलमेन टापु आसपास पानीको सतह घटेसँगै जहाजको राम्रोसँग जोगिएको पतवारका काठका भागहरू फेब्रुअरीको सुरुदेखि नै बाहिर देखिन थालेका हुन् । ती काठका संरचनाले जहाजको कङ्कालजस्तै स्पष्ट रूपरेखा प्रस्तुत गरेका छन्, जसले १७औँ शताब्दीको जहाज निर्माण प्रविधिबारे महत्त्वपूर्ण सङ्केत दिन सक्छ ।

स्टकहोमस्थित व्राक – भग्नावशेष सङ्ग्रहालयका समुद्री पुरातत्वविद् जिम ह्यान्सोनले उक्त भग्नावशेष स्विडेनको नौसेनाले जानाजानी डुबाएको बताए । उनका अनुसार नौसैनिक सेवाबाट अवकाश पाएपछि सन् १६४० आसपास उक्त जहाजलाई क्यास्टेलहोलमेन टापुमा निर्माण गरिएको नयाँ पुलको जगका रूपमा प्रयोग गर्न डुबाइएको थियो । पुरातत्वविद्हरूले हालसम्म जहाजको ठोस पहिचान गर्न सकेका छैनन् । सो क्षेत्रमा पुल निर्माणका लागि एउटै पङ्क्तिमा डुबाइएका पाँचवटा समान भग्नावशेषमध्ये यो एउटा भएको विश्वास गरिएको छ । ती सबै १६औँ शताब्दीको अन्त्यदेखि १७औँ शताब्दीको सुरुतिरका मानिन्छन् ।

ह्यान्सोनका अनुसार त्यतिबेला नयाँ काठ प्रयोग गर्नुको सट्टा पूरै जहाजको हुललाई नै आधारका रूपमा प्रयोग गर्नु व्यावहारिक उपाय मानिन्थ्यो । “ओक काठ अत्यन्त बलियो हुन्छ, त्यसैले पुलको जग बनाउन जहाजकै संरचना उपयोग गरिन्थ्यो”, उनले भने । उनले थप स्पष्ट पार्दै बाल्टिक क्षेत्रमा काठ नष्ट गर्ने समुद्री कीराहरू नहुने भएकाले त्यहाँ डुबाइएका काठका संरचना सयौँ वर्षसम्म सुरक्षित रहन सक्ने बताए । यही कारणले चार सय वर्षपछि पनि जहाजका भागहरू राम्रो अवस्थामा देखिएको उनको भनाइ छ ।

यसअघि सन् २०१३ मा पनि जहाजका केही भाग सतहमा देखिएका थिए । तर यसपटक बाल्टिक सागरको जलस्तर झण्डै एक सय वर्षयताकै सबैभन्दा न्यून विन्दुमा पुगेपछि भग्नावशेष पहिलेभन्दा धेरै स्पष्ट रूपमा देखिएको हो । ह्यान्सोनले उत्तरी क्षेत्रमा लामो समयदेखि उच्च वायुदबाव कायम रहँदा बाल्टिक सागरको पानी उत्तर सागर र एटलान्टिकतर्फ धकेलिएको जानकारी दिए ।

यही प्राकृतिक अवस्थाले जलस्तर घटाउन भूमिका खेलेको उनको विश्लेषण छ ।
बाल्टिक सागरको तल्लो भागमा रहेका स्विडेनी नौसैनिक जहाजका थुप्रै भग्नावशेष पहिचान गरी सही मिति निर्धारण गर्ने उद्देश्यले ‘द लस्ट नेभी’ नामक अनुसन्धान कार्यक्रम सञ्चालनमा रहेको छ । यस नयाँ अवलोकनले उक्त कार्यक्रमलाई थप गति दिने अपेक्षा गरिएको छ ।