न्युयोर्क
कोरोना भाइरसको महामारीले विश्व नै ठप्प छ । चीनको उहान राज्यबाट गत डिसेम्बर महिनामा सुरु भएको यो भाईरसको महामारी अहिले विश्वका २ सय दुई राष्ट्रमा फैलिसकेको छ । भाइरस फैलिएका २ सय २ राष्ट्र मध्ये कतिपय राष्ट्र पूर्णरुपामा बन्द (लकडाऊन) छन् भने कतिपय राष्ट्रहरु आंसिक रुपमा बन्द छन् । समाचार तयार पार्दासम्म ८ लाख ५३ हजार ७ सय ९९ जना यो भाईरसबाट संक्रमित भै सकेका छन् ।संक्रमितको संख्या विश्वभरबाट हरेक मिनेट बढीरहेको छ । ४२ हजार मानिसको कोभिड -१९ बाट मृत्यु समेत भै सकेको छ । संक्रमितको संख्या मात्र होईन मृतकको संख्या समेत लगातार उकालो चढ्दै छ ।हालसम्म यो भाईरसबाट संक्रमित मध्ये १ लाख ७६ हजार ९ सय ६ जनाले पूर्णरुपमा स्वास्थ लाभ समेत गरेका छन् । विश्वभरका कुल मृतकको संख्यालाई आधार मान्दा यो रोगको मृत्युदर अहिले ४ दशमलब ९१ प्रतिशत छ । विश्वभर संक्रमितहरुको संख्यालाई आधार मान्दा मृत्युदर कम जस्तो देखिए पनि कतिपय देशहरुमा मृत्युदर अत्यन्त उच्च छ । कोरोनाको महामारी फैलिएका राष्ट्रहरु मध्ये हालसम्म १९ वटा देशमा मात्र १०० जना भन्दा धेरै मानिसको मृत्यु भएको छ ।
हालसम्म कोरोनाको कारण ईटालीमा सबै भन्दा धेरै मान्छेको मृत्यु भएको छ । ईटालीमा १ लाख ५ हजार ७ सय ९२ जना संक्रमित भएका छन् भने १२ हजार ४ सय २८ जनाको मृत्यु भएको छ । कुल संक्रमित मध्ये मृत्यु हुनेको यो संख्या ११ दशमलब ७४ प्रतिशत हो ।
ईटाली पछि अर्को युरोपियन देश स्पेनमा पनि मृत्यु दर उच्च छ । स्पेनमा ९५ हजार ९ सय २३ जना संक्रमित मध्ये ८ हजार ४ सय ६४ को मृत्यु भएको छ । यो मृत्युदर ८ दशमलब ८२ प्रतिशत हो । स्पेनको हाराहारीमा मृत्युदर धेरै भएको अर्को देश ईन्डोनेसिया हो । हालसम्म मृत्युदर धेरै भएको एसियाको एक मात्र देश हो ईन्डोनेसिया । ईन्डोनेसियामा संक्रमितको संख्या जम्मा १५ सय २८ भए पनि मृतकको संख्या १ सय ३६ पुगिसकेको छ । यो मृत्युदर ८ दशमलब ९० प्रतिशत हो । एसियाको अर्को देश दक्षिण कोरियामा हालसम्म ९ हजार ७ सय ८६ संक्रमित छन् भने १ सय ६२ को मृत्यु हुँदा मृत्युदर १ दशमलब ६५ मात्र छ । अर्को युरोपियन देश नेदरल्यान्डमा पनि मृत्युदर उच नै छ । १२ हजार ५ सय ९५ संक्रमित मध्ये १ हजार ३९ को मृत्यु भै सकेको छ । नेदरल्यान्डमा यो मृत्युदर ८ दशमलब २४ प्रतिशत हो । अन्य युरोपियन देशहरु फ्रान्समा मृत्युदर ६ दशमलब ७५ प्रतिशत बेलायतमा ७ दशमलब ११ प्रतिशत बेल्जियममा ५ दशमलब ५१ प्रतिशत स्विडेनमा ४ दशमलब ०५ प्रतिशत पोर्चुगलमा २ दशमलब १४ प्रतिशत छ । हालसम्म सय जना भन्दा धेरैको मृत्यु भएका युरोपियन देशहरु मध्ये जर्मनमा सबैभन्दा कम मृत्युदर छ । जर्मनमा ७१ हजार ६ सय ९० संक्रमितमध्ये ७ सय ७४ जनाको मृत्यु भएको छ । यो संख्या १ दशमलब ०७ प्रतिशत मात्र हो । अन्य दुई युरोपियन देश स्विजरल्यान्ड र अस्ट्रियामा मृत्युदर क्रमस: २ दशमलब ६० प्रतिशत र १ दशमलब २६ प्रतिशत छ । सय जना भन्दा धेरैको मृत्यु भएको अर्को देश टर्कीमा मृत्युदर १ दशमलब ५८ प्रतिशत छ । हालसम्म ठुलो संख्यामा मानिसहरु संक्रमित भएको एक मात्र मध्यपुर्बको देश ईरानमा २८ सय ९८ को मृत्यु भै सकेको छ । ईरानमा मृत्यु हुने यो संख्या ६ दशमलब ४९ प्रतिशत हो । मध्यपुर्बका अन्य देशहरुमा संक्रमित र मृत्यु हुनेको संख्या कम छ । यता दक्षिण अमेरिकामा भने हालसम्म ब्राजिलमा संक्रमितको संख्या ऊकालो लाग्दै छ । ब्राजिलमा हालसम्म ५ हजार ७ सय १७ जना संक्रमित भएका छन् भने २ सय १ जनाको मृत्यु भएको छ । ब्राजिलमा मृत्युदरको यो संख्या ३ दशमलब ५१ प्रतिशत हो । अन्य दक्षिण अमेरिकी देशहरुमा हालसम्म कोरोनाको प्रभाब अन्य देशहरुको तुलनामा न्युन छ ।
अमेरिकामा मंगलवारसम्म १ लाख ८५ हजार १ सय ५९ जना संक्रमित मध्ये ३ हजार ७ सय ७३ को मृत्यु भएको छ । अमेरिकामा संक्रमितको संख्या उच्च भएपनि मृत्युदर कम छ । अमेरिकामा मृत्युदर २ दशमलब ०३ प्रतिशत छ । झन्डै ३३ करोड जनसंख्या भएको अमेरिकामा ९० लाख मानिस बसोबास गर्ने न्युयोर्क शहर हाल कोरोना महामारीको ईपिसेन्टरको रुपमा उदाएको छ । कोरोना भाईरसको ऊद्गमस्थल चिनमा हालसम्म ८१ हजार ५ सय १८ जना संक्रमित भएका छँन् भने ३३ सय ५ को मृत्यु हुँदा मृत्युदर ४ दशमलब ०५ प्रतिशत छ ।
(प्रस्तुती : बिजय राम पौडेल)