जीवनमा सबैले अवसर पाउँदैनन् । कसैले अवसर खोज्नुपर्छ, कसैले अवसर आफैं सिर्जना गर्नुपर्छ । बागलुङका गंगाप्रसाद शर्मा आचार्य अवसर आफैंले सिर्जना गर्ने सफल पात्र हुन् । पञ्चकोटकोे अभाव, पढाइको असफलता, राजनीतिमा पराजय र विदेशी भूमिमा शून्यबाट शुरु भएको संघर्षलाई उनले सफलताको उचाइमा पु¥याएका छन् । आज उनी बेल्जियमका सफल नेपाली व्यवसायीमध्ये एक हुन् । व्यवसायसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै अन्तर्राष्ट्रिय बागलुङ समाजको नेतृत्व गरिरहेका शर्मा धेरै नेपालीका लागि प्रेरणाका स्रोत बनेका छन् । यस पटकको विश्व सन्देशमा हामीले यिनै शर्माको सफलताको कथाका बारेमा चर्चा गर्नेछौं ।
विसं २०२५, भदौ २६ गते तत्कालीन लहरेपिपल–२, पञ्चकोट (हाल : बागलुङ नगरपालिका–८) मा जन्मिएका शर्माको बाल्यकाल कुनै सुविधासम्पन्न परिवारमा बितेन । चार भाइका कान्छो छोरा हुन् उनी । तर उनका दुई बहिनी पनि छन् । अरु बालबालिका खेल्ने उमेरमा उनी घाँस काट्थे, दाउरा बोक्थे, मेलापात गर्थे । बिहान विद्यालय र बेलुका परिवारको काम– यही थियो उनको दैनिक जीवन । स्थानीय मूलपानी प्राथमिक विद्यालयबाट निमाविसम्मको अध्ययन गरेपछि धौलागिरि वीरेन्द्र माध्यमिक विद्यालय, रातामाटामा भर्ना भए ।
तर, घरको कामधन्दासँगै पढ्नुपर्ने बाध्यताले उनले २०४२ सालको एसएलसी परीक्षामा सफलता प्राप्त गर्न सकेनन् । धेरैका लागि त्यो असफलता जीवनको अन्त्यजस्तो हुन सक्थ्यो । तर शर्माले त्यसलाई अन्त्य होइन, नयाँ शुरुआत बनाए । असफलतापछि उनी निराश भएनन्, बरु नयाँ–नयाँ विकल्प के हुन सक्छन् भनेर लागे ।
सफलता खोज्दै वनारस
नेपालमा सम्भावना साँघुरिँदै गएको महसुस गरेपछि उनी भारतको वनारस पुगे । पहिले–पहिले पढ्नका लागि वनारस जाने चलन थियो । पाका पुरानाहरुमध्ये अधिकांशले वनारसबाटै अध्ययन पूरा गरेका थिए । वनारसमा उनले इलेक्ट्रोनिक्स विषयमा डिप्लोमा अध्ययन गरे । सीप सिकेपछि आफ्नै व्यवसाय गर्ने सपना बोकेर तीन वर्षपछि नेपाल फर्किए ।

२०४३ सालमा ढिकीचौरकी जमुनासँग विवाह गरेपछि उनको जीवनले अप्रत्याशित मोड लियो । विवाह भएको केही दिन नबित्दै उनलाई परिवारबाट अलग गरिए । अलग हुँदा उनले सम्पत्ति पाएनन्, बरु १२ हजार रुपैयाँ ऋणको भारी बोक्नुप¥यो । नयाँ परिवार, नयाँ जिम्मेवारी र टाउकोमा ऋण– यही नै उनको वैवाहिक जीवनको पहिलो उपहार बन्यो ।
बागलुङ बजार झरेपछि बस्न एउटा सानो छाप्रो पाए । त्यही छाप्रोको एउटा कुनामा दुई सय रुपैयाँ लगानी गरेर सानो टेबुल राखे र रेडियो मर्मत गर्ने काम शुरु गरे । बिहानदेखि साँझसम्म ग्राहकको रेडियो मर्मत गर्दा कमाइभन्दा आत्मविश्वास बढिरहेको थियो । झण्डै डेढ वर्षको अथक मेहनतपछि उनले चार हजार रुपैयाँ ऋण तिरे । तर आठ हजार रुपैयाँ अझै बाँकी थियो ।
ऋण दिने साहु तिलकबहादुर कार्की निकै कडा स्वभावका थिए । बाँकी रकमका लागि पटक–पटक ताकेता गर्थे । आर्थिक अभावभन्दा पनि त्यो मानसिक दबाबले गंगाप्रसादलाई धेरै पिरोल्थ्यो । अन्ततः उनले फेरि भारत जाने निर्णय गरे । २०४५ सालमा भारत पुगे, एक वर्षसम्म निरन्तर काम गरे र फर्किएपछि साहुको सम्पूर्ण ऋण चुक्ता गरे ।
आज उनी स्वीकार्छन्, त्यो ऋणले उनलाई दुःख दियो, तर त्यसैले जिम्मेवारी र आत्मनिर्भरताको पाठ पनि सिकायो । ऋणमुक्त भएपछि उनले फेरि बागलुङ बजारमै ’शर्मा रेडियो सर्भिस’ सञ्चालन गर्न थाले । व्यवसाय विस्तार हुँदै थियो, ग्राहकको विश्वास पनि बढ्दै थियो । तर जीवनले अर्को परीक्षा तयार गरिरहेको थियो ।
२०४८–४९ सालतिर उनकी पत्नी जमुना गम्भीर बिरामी भइन् । उपचार गर्नुपर्ने थियो, तर हातमा पैसा थिएन । अन्ततः १६० रुपैयाँ ऋण मागेर उपचार गराउनुपरेको घटना आज पनि उनको स्मृतिमा ताजै छ । ‘त्यतिबेला १६० रुपैयाँ जुटाउन नसक्ने अवस्थाबाट गुज्रिएको मान्छे हुँ’, उनी विगत सम्झिँदै भन्छन् ।
सायद त्यसैले आज पनि उनले पैसाको मूल्य केवल अंकमा होइन, संघर्षमा नाप्छन् । रेडियो, घडी तथा विद्युतीय सामग्री मर्मत गर्ने व्यवसायले उनलाई आत्मविश्वास दियो । विसं २०४४ देखि २०५१ सालसम्म उनले यही व्यवसाय सञ्चालन गरे । त्यो व्यवसाय केवल आम्दानीको स्रोत थिएन; यसले उनलाई मेहनत, अनुशासन र ग्राहकको विश्वास जित्ने कला पनि सिकायो ।
२०५१ सालमा स्थानीय निर्वाचन आयो । समाजका लागि केही गर्ने उद्देश्यले शर्मा वडा सदस्य पदमा स्वतन्त्र उम्मेदवार बने । निर्वाचनको परिणाम आयो । उनी जम्मा तीन मतले पराजित भए । जीवनमा कहिलेकाहीँ एउटा हारले मानिसको सम्पूर्ण गन्तव्य बदलिदिन्छ । शर्माका लागि पनि त्यो तीन मतको अन्तर निर्णायक बन्यो । उनले नेपालभित्र भन्दा बाहिर सम्भावना खोज्ने निर्णय गरे ।
विदेश जाने सपना सजिलो थिएन । व्यवसाय बिस्तार गर्ने योजना बुनेका उनले सटर खोज्न थाले । शुरुमा कसैले सटर दिएनन् । तर स्थानीय देवबहादुर श्रेष्ठले बाहुनको छोरो हो, यसले भाडा तिर्छ भनेर उनलाई सटर दिए । यसले व्यवसायसँगै आम्दानी पनि बढ्यो । डेल्टन कम्पनीको डिलर पाए । चारजना छोराछोरी भएकाले सोचेजस्तो बसाइँ भने हुन सकेन ।
पसलमा बसिरहेका बेलामा एक दिन एकजना साथीले युरोप जान्छस् भनेपछि उनी खुसी भए । भने जान्छु । दलालमार्फत उनले ३ लाख ८० हजार रुपैयाँ तिरे । सांस्कृतिक टोलीका सदस्य अर्थात् ’झाक्री’ बनेर २०५२ सालमा बेल्जियम पुगे । आफू कलाकार नभए पनि जीवन बदल्ने सपना भने वास्तविक थियो । उनीसँगै गएका धेरै नेपालीजस्तै उनी पनि अपरिचित देश, अपरिचित भाषा र अनिश्चित भविष्यको सामना गरिरहेका थिए ।
बेल्जियम पुगेपछिको संघर्षको कुरा त सुनिसाध्य नै छैन । पहिलो तीन दिन उनी सडकमै सुत्न बाध्य भए । भोक, चिसो र अनिश्चित भविष्यसँग जुधिरहेका ती रातहरु उनका जीवनका सबैभन्दा कठिन दिन थिए । ‘अब के गर्ने ?’ यही प्रश्नले उनलाई सताइरहेको थियो ।
त्यहीबेला भेटिएका एक भारतीय नागरिकले उनलाई काम खोजिदिए । गंगाप्रसाद आज पनि त्यो सहयोगलाई जीवनको टर्निङ प्वाइन्ट मान्छन् । बिहान सबेरै खेतमा गोलभेंडा टिप्न जाने, साँझ भारतीय रेष्टुरेन्टमा भाँडा माझ्ने– उनको दैनिकी यही थियो । तर उनले आफूलाई मजदुरीमै सीमित राखेनन् । कामसँगै उनले बेल्जियममै कुकिङ अध्ययन शुरु गरे । डच भाषा सिके । स्थानीय समाज र बजार बुझ्न थाले ।
भारतीय नागरिकको सहयोगमा रेष्टुरेन्टमा भाडा माझ्ने कामबाट नयाँ जीवन शुरु गरे । दिनभरि काम र राति अध्ययन– उनको दिनचर्या यही थियो । श्रमसँगै उनले भाषा सिके, स्थानीय समाज बुझ्दै गए र आफूलाई युरोपेली कार्यसंस्कृतिअनुसार ढाल्दै लगे । धेरै नेपालीहरु विदेशमा राम्रो अवसरको प्रतीक्षामा समय बिताउँछन् । शर्मा भने जुन अवसर पाए, त्यसलाई नै भविष्य निर्माणको आधार बनाए ।
आज त्यही परिवारका चार सन्तान आफ्नै क्षेत्रमा स्थापित छन् । जेठो छोरा सिभिल इन्जिनियर छन् भने बुहारी स्पेनिस आर्किटेक्ट । जेठी छोरी र ज्वाइँ अमेरिकामा चिकित्सकका रुपमा कार्यरत छन् । कान्छो छोरा र कान्छी छोरी बेल्जियम सरकारको सेवामा कार्यरत छन् ।
अपमान, जसले सफलता सिकायो
गंगाप्रसादको जीवनमा अभावभन्दा गहिरो चोट अपमानले दिएको छ । २०४६ सालको भारत–नेपाल नाकाबन्दीका बेला मट्टीतेलको चरम अभाव थियो । बिजुली नहुँदा रेडियो मर्मत गर्न स्टोभमा आइरन तताएर सोल्डरिङ गर्नुपथ्र्यो । त्यसका लागि दैनिक मट्टीतेल आवश्यक थियो । सीडीओ कार्यालयमा मट्टीतेलको चिट माग्न पुगेका उनलाई सहयोग गर्नुको सट्टा अपमान गरियो । जसले उनलाई विद्रोही बनायो । ‘तेरो छोराछोरी मैले पालिदिने हो र ?’ भन्ने कटु वाक्य सुन्नुप¥यो । चर्पीमा थुन्ने धम्कीसमेत दिइयो ।
त्यो दिन उनी निराश भएर फर्किन सक्थे । तर उनले हार मानेनन् । अन्ततः बागलुङका नेता तेजेन्द्र खड्काको सहयोगमा उनले दैनिक तीन लिटर मट्टीतेल पाउने व्यवस्था मिलाए । त्यो मट्टीतेल केवल इन्धन थिएन, त्यो उनको व्यवसाय जोगाउने आधार थियो । आज उनी भन्छन्, ‘जीवनमा मलाई सबैभन्दा धेरै प्रेरणा सहयोगले भन्दा अपमानले दिएको छ ।’
सन् २००७ मा उनले बैंकबाट ऋण लिएर बेल्जियममा एउटा घर किने । त्यो घर केवल बसोवासका लागि थिएन । घरको तल्लो तलामा उनले आफ्नै सुपरमार्केट शुरु गरे । सुपरमार्केट सफल भयो । त्यसपछि उनले आतिथ्य क्षेत्रमा पाइला टेके । एकपछि अर्को गर्दै रेष्टुरेन्ट सञ्चालन गर्न थाले । व्यवसाय विस्तारसँगै रोजगारी पनि सिर्जना भयो । एक समय दुई सय रुपैयाँ लगानी गरेर टेबुल राख्ने व्यक्ति आज आफ्ना व्यवसायमार्फत करिब २० जनालाई रोजगारी दिने उद्यमी बने ।
लुभेनस्थित ‘होली काउ’ रेष्टुरेन्ट अहिले नेपाली तथा विदेशी ग्राहकबीच लोकप्रिय छ । तर त्यस रेष्टुरेन्टको सफलताभन्दा पनि गंगाप्रसादलाई आफ्नो विगतले बढी छुन्छ । बागलुङबाट नुन–तेल किन्न स्याङ्जाको पुतलीखेतसम्म पैदल हिँडेको बालक, १६० रुपैयाँ ऋण खोजेर पत्नीको उपचार गराएको श्रीमान्, सडकमा तीन रात बिताएको प्रवासी, भाँडा माझ्दै भाषा सिकेको मजदुर– यी सबै पात्र आज पनि उनीभित्र जीवित छन् । सायद त्यसैले सफलता आएपछि पनि उनी जमिन छोडेका छैनन् ।
उनका लागि व्यवसाय भनेको केवल नाफा कमाउने माध्यम होइन; संघर्षलाई सम्मान गर्ने, रोजगारी सिर्जना गर्ने र समाजलाई केही फर्काउने अभियान हो ।
बेल्जियमले सिकाएको श्रमको सम्मान
बेल्जियममा बिताएका करिब दुई दशकले गंगाप्रसाद शर्मा आचार्यलाई केवल सफल व्यवसायी मात्र बनाएन, काम गर्ने संस्कार, समयको मूल्य र प्रणालीको महत्व पनि सिकायो । उनी भन्छन्, ‘बेल्जियममा श्रमको सम्मान छ । समयको मूल्य छ । मानिसले मानिसलाई सम्मान गर्छ । मेहनत गर्नेले अवसर पाउँछ । त्यहाँ व्यक्ति होइन, प्रणाली बलियो छ ।’
नेपाल र बेल्जियमबीचको सबैभन्दा ठूलो फरक पनि उनी यही मान्छन् । उनका अनुसार नेपालमा प्रतिभा र मेहनतको अभाव छैन, तर प्रणाली कमजोर हुँदा मेहनती मानिसले आफ्नो क्षमताअनुसार अवसर पाउन सक्दैन । सायद यही अनुभूतिले उनलाई व्यवसायी मात्र होइन, समुदाय निर्माणमा सक्रिय अभियन्ता पनि बनायो ।
बेल्जियम पुगेपछि उनको परिचय केवल एक प्रवासी कामदार वा व्यवसायीसम्म सीमित रहेन । शुरुमा गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको सदस्य बने । त्यसपछि उपाध्यक्ष, अध्यक्ष हुँदै अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्यसम्म पुगे ।
तीन दर्जनभन्दा बढी सामाजिक तथा प्रवासी संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेका गंगाप्रसाद बागलुङ समाज बेल्जियमका संस्थापक अध्यक्ष हुन्् । उनी अन्तर्राष्ट्रिय बागलुङ समाजका पनि संस्थापक हुन् र हाल त्यसै संस्थाको अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् । उनीका लागि नेतृत्व पद होइन, जिम्मेवारी हो । ‘संस्था बनाउन सजिलो छ, टिकाउन गाह्रो छ’, उनी भन्छन्, ‘त्यसका लागि विश्वास जित्नुपर्छ ।’
नेपाल फर्किने तयारीमा गंगाप्रसाद
जीवनको कठिन यात्रामा उनकी जीवनसंगिनी जमुना शर्मा सधैं साथमा रहिन् । आज जमुना सामाजिक अभियानमा सक्रिय छिन् । गैरआवासीय नेपाली संघलगायत विभिन्न संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेकी छन् । उनको संघर्षमय जीवनमा आधारित ’फार वे’ पुस्तक प्रकाशित भइसकेको छ ।
गंगाप्रसादका लागि सन्तानको सफलता व्यक्तिगत गौरवभन्दा बढी संघर्षको प्रतिफल हो । ‘हामीले दुःख भोग्यौं, उनीहरुले अवसर पाए’, उनी सन्तोष व्यक्त गर्छन् । विदेशमा सफलता प्राप्त गरेपछि धेरैको लक्ष्य त्यहीँ स्थायी बसोवास गर्ने हुन्छ । तर गंगाप्रसादको सोच फरक छ । उनी अब नेपाल फर्किने तयारीमा छन् ।
‘नेपाल फर्किने निर्णय गरेपछि मनमा बेग्लै आनन्द आएको छ’, उनी मुस्कुराउँदै भन्छन्् । बागलुङको पञ्चकोटमा उनले झण्डै ५० रोपनी जग्गा किनेका छन् । काठमाडौं, पोखरा र बागलुङमा आतिथ्य (हस्पिटालिटी) क्षेत्रको ठूलो लगानी गर्ने योजना बनाएका छन् ।
सरकारले लगानीमैत्री वातावरण बनाइदिए आफू एक्लै होइन, यसै वर्ष कम्तीमा १० जना प्रवासी नेपाली व्यवसायीसँगै नेपाल फर्किने उनको विश्वास छ । नेपाल फर्किने उनको उद्देश्य केवल आफ्नो व्यवसाय विस्तार गर्नु होइन । उनी पाँच सयभन्दा बढी युवालाई रोजगारी दिने लक्ष्यसहित योजना बनाइरहेका छन् ।
विदेशमा सिकेको व्यवस्थापन, सेवा संस्कृति र व्यवसायिक अनुभवलाई नेपालमै प्रयोग गर्ने उनको चाहना छ । ‘रोजगारी सिर्जना गर्न सकियो भने मात्रै वैदेशिक पलायन रोकिन्छ’, उनी भन्छन् ।
व्यवसायसँगै समाजसेवामा पनि गंगाप्रसादको योगदान उल्लेखनीय छ । उनको सक्रियतामा बलेवाको जनता धन माध्यमिक विद्यालयमा स्टेशनरी सहयोग पुगेको छ । धौलागिरि अस्पतालमा रक्तसंकलनका लागि फ्रिज उपलब्ध गराइएको छ । कारागारमा पुस्तकालय स्थापना, गोरखाको विद्यालयमा खानेपानी आयोजना, विद्यामन्दिर पुस्तकालय तथा मानव सेवा आश्रमलाई सहयोग पु¥याउन उनले महत्वपूर्ण भूमिका खेलेका छन् ।
व्यक्तिगत रुपमा पनि धेरै विद्यार्थी, बिरामी र विपन्न परिवारलाई सहयोग गर्दै आएका छन् । विशेषगरी ‘महिला बचाऔं अभियान’ अन्तर्गत स्तन क्यान्सरबाट पीडित महिलालाई प्रत्येक वर्ष सहयोग गर्ने उनको अभियान अहिले पनि जारी छ । हालसम्म तीन जना महिलाले त्यसबाट प्रत्यक्ष सहयोग पाइसकेका छन् । उनका लागि समाजसेवा प्रचारको विषय होइन, जीवनको उत्तरदायित्व हो ।

जन्मभूमि बागलुङमै केही गर्ने हुटहुटी
गंगाप्रसादको अहिलेको सबैभन्दा ठूलो सपना आफ्नै जन्मथलो बागलुङसँग जोडिएको छ । उनको अनुमानमा विश्वका विभिन्न मुलुकमा करिब एक लाख बागलुङेली रहेका छन् । उनीहरुको सीप, अनुभव र पूँजीलाई जिल्लामा भिœयाएर स्वास्थ्य, शिक्षा, पर्यटन र रोजगारीमा लगानी गर्ने उनको योजना छ । उनी विश्वास गर्छन्, यदि प्रवासी नेपालीको अनुभव र स्थानीय सम्भावना जोड्न सकियो भने बागलुङलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन सकिन्छ ।
‘विदेश पठाउने जिल्ला होइन, विदेशबाट फर्कने जिल्ला बनाउनुपर्छ’, उनी भन्छन् । प्रवासी नेपालीप्रति राज्यको दृष्टिकोणबारे भने उनी केही असन्तुष्ट देखिन्छन् । उनको बुझाइमा गैरआवासीय नेपालीहरूलाई अझै पनि पूर्ण साझेदारका रुपमा स्वीकार गरिएको छैन । ‘हामी कर तिर्छौं, लगानी गर्न चाहन्छौं, देशका लागि केही गर्न चाहन्छौं’, उनी भन्छन्, ‘तर त्यसअनुसारको वातावरण चाहियो । जन्मका आधारमा नागरिकताको अधिकार र लगानीको सुरक्षाले धेरै नेपाली फर्किन सक्छन् ।’ उनको आग्रह सरल छ– सरकारले विश्वासको वातावरण बनाओस्, बाँकी काम प्रवासी नेपालीले आफैं गर्न सक्छन् ।
विगतबाट शिक्षा र आत्मबल लिन्छु
गंगाप्रसाद शर्मा आचार्य आफ्नो विगतलाई कहिल्यै बिर्सन चाहँदैनन । ‘यो ठाउँसम्म पुग्छु भन्ने मैले कहिल्यै सोचेको थिइनँ’, उनी भन्छन्– ‘जीवनले कल्पनाभन्दा धेरै दियो । त्यसैले विगत बिर्सनु हुँदैन ।’ कुराकानीको अन्त्यमा उनले केही क्षण मौन बसेर एउटा वाक्य सुनाए, जसले सायद उनको सम्पूर्ण जीवनको सार बोकेको छ– ‘जीवन संघर्ष हो । हार मान्ने होइन । केही गर्न नसके चुप लाग्नु राम्रो । तर जे गरे पनि समयको मूल्य बुझ्नुपर्छ । पैसा खान र लाउन मात्रै होइन, अरुलाई दिन पनि जान्नुपर्छ ।’
त्यही दर्शनले बागलुङको एउटा सामान्य गाउँका युवकलाई बेल्जियमको सफल व्यवसायी बनायो । र त्यही दर्शन लिएर उनी फेरि आफ्नै माटो फर्किन लागेका छन् । सायद अब उनको अर्को संघर्ष व्यक्तिगत सफलताका लागि होइन, आफ्नै गाउँ, आफ्नै जिल्ला र आफ्नै देशका लागि हुनेछ ।
गंगाप्रसाद शर्मा आचार्यको जीवनले एउटा स्पष्ट सन्देश दिन्छ– सपना देख्न धन चाहिँदैन, तर सपना पूरा गर्न धैर्य, श्रम र इमान चाहिन्छ । जीवनले जतिसुकै अप्ठ्यारो मोड किन नदिओस्, हार नमान्नेहरु अन्ततः आफ्नै भाग्यका निर्माता बन्छन् ।
गंगाको कथा कुनै व्यक्तिको सफलताको कथा मात्र होइन । यो हजारौं प्रवासी नेपालीको सम्भावनाको कथा हो । संघर्षबाट भाग्ने होइन, संघर्षलाई अवसरमा बदल्ने साहस गर्ने हो भने असम्भव जस्तो देखिने सपना पनि पूरा हुन सक्छ भन्ने उदाहरण उनी हुन् ।