आरएल श्रमजीवी
लण्डन, बेलायत
‘प्रेम विश्वासमा रोपिन्छ, भरोसामा बढ्छ, श्रद्धामा फक्रिन्छ, आशामा जिउँछ, आधुनिकतामा घायल हुन्छ, महत्वाकांक्षाले बिरामी पर्छ र शंकाले मर्छ ।’
प्रेम केवल एउटा सुन्दर वाक्य मात्र होइन; यो मानव सभ्यताले हजारौं वर्षदेखि भोग्दै आएको अनुभूतिको शृङ्खला पनि हो । प्रेम कुनै आकस्मिक घटना होइन, यो मन मस्तिष्कको एउटा दीर्घ यात्रा हो ।
यसको जन्म हुन्छ, यो हुर्किन्छ, फुल्छ, फल्छ, घाइते हुन्छ, रोगी बन्छ र कहिलेकाहीँ आफ्नै छायाँसँग हारेर मर्छ । प्रेमको पहिलो शर्त सौन्दर्य होइन, सम्पत्ति होइन, आकर्षण पनि होइन– विश्वास हो । विश्वास भनेको दुई मनबीच बाँधिएको अदृश्य पुल हो, जसलाई न आँधीले भत्काउन सक्छ, न दूरीले च्यात्न सक्छ । जहाँ विश्वास हुन्छ, त्यहाँ प्रमाणको आवश्यकता पर्दैन; त्यहाँ आँखाले भन्दा हृदयले देख्छ । विश्वास प्रेमको बीउ मात्र होइन, त्यसको पहिलो प्राण हो ।
तर बीउ रोपेर मात्र वन बन्दैन । त्यसलाई हुर्काउने शक्ति भनेको भरोसा हो । भरोसा भनेको जीवनको सबैभन्दा अँध्यारो रातमा पनि, ‘तिमी छौ’ भन्ने उज्यालो अनुभूति हो । मानिस संसारसँग हार्न सक्छ, तर जसको काँधमा भरोसा गर्न सक्छ, ऊ जीवनसँग कहिल्यै हार्दैन । प्रेममा भरोसा भनेको भविष्यलाई हात समातेर हिँड्ने साहस हो ।
प्रेममा जब श्रद्धा मिसिन्छ, तब प्रेम वासनाबाट मुक्त भएर साधनामा रुपान्तरण हुन्छ । श्रद्धा भनेको प्रिय व्यक्तिलाई आफ्नो स्वामित्वको वस्तु होइन, एउटा स्वतन्त्र ब्रह्माण्डका रुपमा स्वीकार गर्नु हो । जहाँ श्रद्धा हुन्छ, त्यहाँ अधिकारभन्दा सम्मान ठूलो हुन्छ; नियन्त्रणभन्दा स्वतन्त्रता प्रिय हुन्छ । श्रद्धाले प्रेमलाई मन्दिर बनाउँछ, जहाँ अहंकारले प्रवेश गर्न सक्दैन । त्यसैले प्रेमलाई पूजा पनि भन्ने गरिन्छ ।
प्रेमको श्वास भनेको आशा हो । आशा नहुने हो भने प्रेम पहिलो बिछोडमै मर्छ । प्रेमीहरु वर्षौं कुर्न सक्छन्, समुद्र पार गर्न सक्छन्, पहाड चढ्न सक्छन्, हजारौं पीडा सहन सक्छन्, किनकि उनीहरुलाई आशा हुन्छ– एक दिन भेट हुनेछ, एक दिन सबै पीडा अर्थपूर्ण हुनेछ । आशा नै प्रेमको अदृश्य धड्कन हो । त्यही धिपधिपे बत्तीमा प्रेम बाँच्छ । तर आधुनिक समयसँगै मानिसले सूचना प्रविधिमा अभूतपूर्व उन्नति ग¥यो ।
सामाजिक सञ्जालले संसार सानो भयो, तर मनहरु कहिलेकाहीँ टाढा भए । आधुनिकता आफैं दोषी होइन; दोष तब जन्मन्छ जब सम्बन्धलाई पनि उपभोगको वस्तु बनाइन्छ । आज सम्बन्धहरु पनि मोबाइलका एपझैं सजिलै डाउनलोड र डिलिट हुन थाले । धैर्यको ठाउँ हतारले लियो, समर्पणको ठाउँ विकल्पले लियो, संवादको ठाउँ प्रदर्शनले लियो । यहीँनेर प्रेम पहिलोपटक घाइते भएको हो कि ?
जब प्रेममा महत्वाकांक्षा प्रवेश गर्छ मान्छे दुःखी हुन्छ ।
सपना देख्नु मानव स्वभाव हो, तर जब सपना यति ठूलो हुन्छ कि त्यसमा सम्बन्धका लागि ठाउँ नै बाँकी रहँदैन, तब प्रेम रोगी बन्छ । धन, पद, प्रसिद्धि र सफलताको दौडमा कहिलेकाहीँ मानिसले आफूलाई प्रेम गर्ने मानिसलाई पछि छोडिदिन्छ । अन्ततः शिखरमा पुग्दा उसले थाहा पाउँछ– संसार जितेछ, तर आफूलाई निस्वार्थ माया गर्ने एउटा मन गुमाइसकेको रहेछ ।
र अन्तिम दृश्यमा मञ्चमा आउँछ शंका– प्रेमको मौन हत्यारा । प्रेमलाई बाहिरी शत्रुले भन्दा धेरै आफ्नै मनका शंकाहरुले नष्ट गरेका हुन्छन् । शंका एउटा यस्तो विष हो, जसले शरीर होइन, विश्वासलाई सल्काउँछ र भष्म बनाइदिन्छ । यसले प्रश्न जन्माउँछ, संवाद मार्छ, मुस्कानलाई मौन बनाउँछ र अन्ततः प्रेमलाई जीवित शवमा बदलिदिन्छ । अर्थात् जिउँदो लास बनाउँछ । शंका चिच्याएर आउँदैन; ऊ सुस्केराभित्र लुकेर सुस्तरी आउँछ ।
त्यसैले उसको प्रहार सबैभन्दा घातक हुन्छ । सायद यही कारणले महान् प्रेमकथाहरु अमर बने– किनकि उनीहरुले प्रेमलाई अधिकार होइन, विश्वास ठाने; स्वार्थ होइन, समर्पण ठाने; प्राप्ति होइन, त्याग ठाने । प्रेमको अन्तिम सत्य सँगै बाँच्नु मात्र होइन, एकअर्काको मन मस्तिष्कलाई उज्यालो बनाउनु पनि हो । प्रेमलाई बचाउन कुनै जादु चाहिँदैन ।
केवल यति सम्झनुपर्छ– विश्वास हरायो भने प्रेमको जन्मस्थल नै उजाड हुन्छ; भरोसा हरायो भने यात्रा रोकिन्छ; श्रद्धा हरायो भने प्रेम अपमानमा बदलिन्छ; आशा हरायो भने धड्कन रोकिन्छ; महत्वाकांक्षाले सम्बन्धलाई निल्यो भने प्रेम रोगी हुन्छ; र शंकाले मनमा घर बनायो भने प्रेमको मृत्यु निश्चित हुन्छ ।
त्यसैले प्रेम गर्नु भनेको कसैलाई आफ्नो बनाउनुभन्दा पहिले आफूभित्र विश्वास, धैर्य, सम्मान र सत्यलाई जीवित राख्नु हो । किनकि अन्ततः प्रेम दुई शरीरको मिलन होइन– दुई मनले एकअर्काको अस्तित्वलाई निस्वार्थ रुपमा स्वीकार गर्ने दुर्लभ अनि गहिरो अनुभूति हो प्रेम । प्रेम त्यहीँ अमर हुन्छ, जहाँ विश्वास कहिल्यै मर्दैन ।