१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलम जेलबाट छुटेका छन् । उच्च अदालत वीरगञ्ज इजलासले आलमलाई बुधबार सफाइ दिएको हो । वीरगञ्ज अदालतबाट सफाइको पत्र प्राप्त भएसँगै उनलाई कारागारबाट छाडिएको हो । आलमलाई जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो । जिल्लाको उक्त फैसला उल्ट्याउँदै वीरगञ्ज इजलासले आलमलाई सफाइ दिएको छ । उनलाई ललितपुरस्थित नख्खु जेलमा राखिएको थियो ।
संविधान सभाको निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित इँटा भट्टामा पोलेर व्यक्ति हत्या गरेको आरोपमा उनी दोषी ठहर भएका थिए । घटनाको १२ वर्षपछि रौतहट प्रहरीले आलमलाई १९ असोज २०७६ मा पक्राउ गरेको थियो । आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप आलममाथि लागेको छ । उनको सफाईपछि सामाजिक संजालमा भने तीव्र आलोचना भइरहेको छ ।