काठमाडौं । आगोको लप्काले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको कीर्तिपुर अस्पतालमा उपचार सुरु भएको छ । अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई सघन कक्ष (आईसीयू)मा भर्ना गरेर उपचार गरिरहेको अस्पतालका निर्देशक किरणकिशोर नकर्मीले विज्ञप्तिमार्फत जानकारी दिएका हुन् ।
पोखरा भ्रमण वर्षमा बेलुन पड्कियो, अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते
‘आज २०८१ फागुन ३ गते शनिबार पोखराबाट जलन घाइते भई यस कीर्तिपुर अस्पतालमा दिउँसोको ३ः३० बजे उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य उपचारार्थ सघन उपचार कक्षमा भर्ना हुनुभएको छ, विज्ञप्तिमा लेखिएको छ, उहाँहरूको प्रारम्भिक मूल्यांकनअनुसार ५, ६ प्रतिशत जलेको तर अनुहारमा जलन भएकाले श्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकाले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिन्छ ।
उनीहरूको उपचारमा प्रा डा बीडी झा, डा. प्रवीण गिरी लगायतको सघन उपचार कक्षको टोली, प्रा. डा. शंकरमान राई, डा. विशाल कार्की, डा. मनीष यादवलगायतको जलन विशेषज्ञहरू, डा. प्रयुस अर्याल लगायत आकस्मिक उपचार टोली र रिना गौचन, निर्मला कुँवर, तृष्णा महर्जन लगायत नर्सिङ टोली संलग्न रहेको विज्ञप्तिमा उल्लेख छ ।
पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा शनिबार रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको लप्काले बेलुन पड्किएको थियो । आगोका झिल्का उनीहरुको शरीरमा लागेको थियो । दुवै जनालाई पोखरामा प्राथमिक उपचारपछि कीर्तिपुर अस्पतालमा ल्याइएको हो ।