कांग्रेसको आधिकारिता विवादमा अन्तरिम आदेश दिन अस्वीकार

तस्बिरः गाेपाल दाहाल / रासस

काठमाडौँ, ६ माघः सर्वोच्च अदालतलले विशेष महाधिवेशनबाट नेपाली कांग्रेसका सभापति गगन थापा नेतृत्वलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्धको रिट निवदेनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले आज सभापति थापाविरुद्ध शेरबहादुर देउवा नेतृत्वमा रहेको समूहले दायर गरिएको रिट निवेदनमाथि आज सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

आदेशमा भनिएको छ, “यस अदालतले आफ्नो असाधारण अधिकार क्षेत्रको प्रयोगमार्फत के कुन हदसम्म हस्तक्षेप गर्न मिल्ने हो ? भन्नेजस्ता जटिल राजनीति सम्बद्ध संवैधानिक प्रश्नहरूको निरूपण प्रस्तुत रिट निवेदनको अन्तिम सुनुवाइ हुँदाका बखत सम्बोधन हुने प्रकृतिको देखिँदा हाल मागबमोजिसको अन्तरिम आदेश जारी गर्नु परेन ।”

अदालतले उक्त विवादको रिट निवेदनमा विषयमा अदालतले रिट निवेदनमा जटिल एवं गम्भीर कानुनी तथा संवैधानिक प्रश्नहरू उठाइएको पाइँदा यी प्रश्नहरूको छिटो निरोपण हुन आवश्यक देखिँदा विपक्षीहरूको लिखित जवाफ परेको वा अवधि व्यतित भएको मितिले १५ दिनभित्र प्रस्तुत निवेदनलाई अन्तिम सुनुवाइका लागि अग्राधिकार प्रदान गरेको छ ।

नेपाली कांग्रेस देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति बैठकले थापा नेतृत्वलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने भन्दै सर्वोच्च अदालतमा जाने निर्णय गरेको गरेको थियो । रिट निवेदनमा कांग्रेस नेता देउवा र पूर्णबहादुर खड्काको वारेसले श्रवणकुमार श्रेष्ठले दायर गरेको रिट निवेदनमा निर्वाचन आयोगको निर्णय बदर, यही माघ ६ गतेको निर्वाचनको उम्मेदवारी रोकी पाऊँ र नयाँ निर्वाचित कार्यसमिति अवैधानिक भएको भन्दै भङ्ग गर्न माग गरिएको थियो ।