काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेस उपनिर्वाचनको नतिजाबाट निरास बनेको छ । उसले अघिल्लो पटक जितेका क्षेत्र समेत जोगाउन सकेन । एक्लै प्रतिस्पर्धा गर्ने नीति लिएको कांग्रेसले पालिका पदाधिकारीतर्फ ५ स्थानको नतिजा आउँदा कतैपनि जितिसकेको छैन । कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार अगाडी छन् । जबकी उपचुनाव भएका ८ पालिका पदाधिकारी मध्ये ६ ठाउँमा यसअघि कांग्रेसले जितेको थियो । ०७९ मा कांग्रेसले जितेको मोरङको ग्रामथान र दैलेख महाबु गाउँपालिकाको अध्यक्ष कांग्रेसले बचाउन सकेन ।
मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा कांग्रेसबाटै माओवादी प्रवेश गरेका नमोनारायण माझीले जिते । माझीले ६९६९ मत ल्याएर अध्यक्ष जित्दा कांग्रेसका बलराम सरदार थारुले ५३३३ मत पाए । यो पालिकामा यसअघि कांग्रेसका जयप्रकाश गच्छदार थारुले ७६०५ मत ल्याएर जितेका थिए । त्यसबेला निकटतम् प्रतिद्वन्द्वी थिए, एमालेका शिवनारायण माझी ।
एमालेका माझीले ६०९३ मत ल्याउँदा माओवादीका विजयकुमार सरदार २७२७ मतमा सीमित भएका थिए । त्यस समयको तेस्रो स्थानको माओवादीले उपचुनावबाट ग्रामथान गाउँपालिकाको अध्यक्ष कांग्रेसबाट खोस्यो । यहाँ पालिका प्रमुख जिताउन पार्टी महामन्त्री गगन थापा आफैं पुगेका थिए भने गुरुराज घिमिरे निरन्तर लागिपरेका थिए ।
दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष त सत्ता साझेदार एमालेले नै खोस्यो । एमालेका जंगबहादुर शाहीले ३१२७ मत ल्याएर विजयी हुँदा कांग्रेसका झलकबहादुर भण्डारी २६७५ मतमा सीमित भए । २०७९ को चुनावमा एमालेलाई नै कांग्रेसले हराएका थिए । कांग्रेसबाट लछुमन गुरुङले अध्यक्षमा जित्दा एमालेका हरिप्रसाद उपाध्याय त्यसबेला पराजित भएका थिए ।
०७९ को चुनावमा गठबन्धन गरेको माओवादीले यो उपचुनावमा जाजरकोटको नलगाड नगरपालिकाको उपमेयर कांग्रेसबाट खोसेको छ । माओवादी केन्द्रकी देवका लामिछाने ४२७२ मत ल्याएर उपमेयर निर्वाचित हुँदा कांग्रेसकी इन्द्रा चन्द सिंह ३१४७ मत ल्याएर दोस्रो भइन् । बाजुराको स्वामीकार्तिक खापरको उपाध्यक्ष पद सत्ता साझेदार एमालेको पोल्टामा पुगेको छ ।
कांग्रेस उम्मेदवार पुल्तीसरा शाहीलाई एमाले उम्मेदवार सुलोचनाकुमारी भण्डारी बुढाले हराइन् । निर्वाचित बुढाले १७४० मत प्राप्त गर्दा कांग्रेसकी शाहीले १४७४ मत पाइन् । २०७९ मा कांग्रेस उम्मेदवार मैना जोशीले १८१० मत ल्याई निर्वाचित हुँदा हाल एमालेबाट निर्वाचित बुढाले त्यसबेला १६३७ मत प्राप्त गरी पराजित भएकी थिइन् । वडातर्फ कांग्रेसले यसअघि जितेको काठमाडौं–१६, नुवाकोटको ककनी–२, ओखलढुङ्गाको मोलुङ–५ लगायत १६ क्षेत्र गुमाएको छ । यद्यपि पहिले नजितेका ९ वडा जितेर कांग्रेसको जित संख्या १६ पुगेको छ ।
जिल्ला समन्वय सभापति, पालिका पदाधिकारी र वडाध्यक्ष गरी उपचुनाव भएको ४४ पद मध्ये २७ स्थानमा यसअघि कांग्रेसले जितेको थियो । उपचुनावमा जिसस सभापतिसहित १८ पद कांग्रेसले जितेको छ । ४ स्थानमा नतिजा आउन बाँकी छ । कांग्रेसको उपचुनाव हार्ने सूचीमा काठमाडौं–१६ को वडाध्यक्ष पनि प¥यो । जहाँ उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफैले मतदान गरेका थिए । जबकी यो वडा यसअघि दुईपटक कांग्रेसले जितेको थियो । तर पहिलोपटक स्थानीय चुनावमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रोजिना श्रेष्ठले २९०२ मत ल्याएर वडाध्यक्ष जितिन् ।
कांग्रेसले जितेको वडाहरूः
कीर्तिपुर नगरपालिका–१ र ४
लालीगुराँस नगरपालिका–८
सुनसरीको गढी गाउँपालिका–६
रौतहटको ईशनाथ नगरपालिका–७
रौतहटको राजपुर नगरपालिका—६
मकवानपुरको हेटौंडा उपमहानगर–१२
गुल्मीको मुसिकोट–१
रोल्पाको रुन्टीगढी गाउँपालिका–४
बर्दियाको ठाकुरबाबा नगरपालिका–४
जाजरकोटको कुशे गाउँपालिका–७
रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–५
बझाङको सूर्मा गाउँपालिका—४
डोटीको पुर्वीचौकी गाउँपालिका–६
दार्चुलाको दुहु गाउँपालिका–५
कञ्चनपुरको भीमदत्त नगरपालिका–६