कांग्रेसमा झण्झटिलो मतदान, एक जनालाई १ घण्टासम्म लाग्ने

रासस

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा हुने निर्वाचनको मतदानमा झण्झटिलो प्रक्रियाका कारण लामो समय लाग्ने भएको छ । एक जना मतदाताले पदाधिकारी सहित १३४ जना उम्मेदवारका लागि कुल २९ वटा मतपत्रमा मतदान गर्नुपर्ने छ । सोहीकारण एक जना महाधिवेशन प्रतिनिधिलाई मतदान गर्न आधा घण्टादेखि एक घण्टासम्म समय लाग्ने छ । निर्वाचन समितिका अनुसार ूसभापति, हरेक पदाधिकारी र फरक समूहबाट उम्मेदवार बन्नेहरूका लागि छुट्टाछुट्टै मतपत्र बनाइएको छ ।

सोहीकारण २९ वटा मतपत्र हुने भएका हुन् । मतपत्र खसाल्ने ठाउँ समेत २९ वटा नै बनाइएको छ । कांग्रेसको पार्टी विधान अनुसार सभापतिमा निर्वाचित हुन ५० प्रतिशत मत कटाउनुपर्छ । ५० प्रतिशत भन्दा बढी मत नआए सबैभन्दा बढी मत आउने दुई जना उम्मेदवारबीच पुनः मतदान हुन्छ । शुरुमा सभापतिको मतगणना हुने र त्यसपछि अन्यको गर्ने तयारी छ ।

महाधिवेशनस्थलमा सोमवार बिहान ८ बजेबाट मतदान सुरु हुनेछ । मतदान स्थलमा एक पटकमा करिब एक हजार जना अटाउन सक्ने व्यवस्था गरिएको छ। तीन फरक ठाउँबाट मतदाताहरू मतदान स्थलमा प्रवेश गर्नेछन् । महाधिवेशनमा ४ हजार ७०० भन्दा बढी मतदाता छन् ।