काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरुलाई फिर्ता बोलाउने बताएका छन् । मंगलबार आफू प्रधानमन्त्री भएको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले कूटनीतिक नियोगहरुलाई लगानी र पर्यटनमा परिणाममुखी परिचालन गर्ने बताएका हुन् ।
‘म सबै आर्थिक र कुटनीतिक नियोगहरूलाई लगानी र पर्यटनमा परिणाममुखी परिचालनका लागि प्रतिबद्ध छु। कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरू फिर्ता बोलाइनेछन्’, उनले भने । आफू प्रधानमन्त्री भएपछि विप्रेषण आप्रवाहमा २६ प्रतिशतले वृद्धि भएको भन्दै प्रचण्डले अब आफ्नो ध्यान विप्रेषणसँगै भित्रिने सीप, अनुभव र दक्षताको उपयोग गरी देशभित्र उत्पादन र रोजगारी बढाउनेतर्फ केन्द्रित हुने पनि बताए ।