काठमाडौं । चन्द्रमामा अवतरण गरेको जापानी अन्तरिक्षयानको ल्यान्डर यान त्यहाँ चिसो सकिएसँगै ब्यूतिएको छ । यसले यान सक्रिय रहेको सङ्केत प्राप्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । बीबीसीका अनुसार ऊर्जा प्रणालीमा समस्या उत्पन्न भएपछि र चन्द्रमामा रात परेपछि उक्त ल्यान्डरले काम नगर्ला कि भन्ने डर जापानी अन्तरिक्ष निकाय (जाक्सा)लाई थियो ।
जाक्साका अनुसार चन्द्रमामाा रात सकिएपछि स्लिमलाई पृथ्वीबाट निर्देशन दिइएको र त्यसले पठाएको प्रतिक्रिया पनि प्राप्त भएको बताइएको छ । चन्द्रमामा हुने रातको अवधि पृथ्वीमा दुई साताजति हुन्छ। रात पर्दा चन्द्रमामा निस्पट्ट अन्धकार हुन्छ र तापक्रम पनि निकै घट्छ।
गत महिना चन्द्रमामा अवतरण गर्दा गर्दा उक्त ल्यान्डर उत्तानो अवस्थामा थियो। त्यसमा जडित सौर्य प्यानलहरू सूर्यतिर नफर्किएकाले ऊर्जा प्रणालीमा सङ्कट उत्पन्न भएको थियो। त्यसैले स्लिमलाई निष्कृय अर्थात् ,स्लीप मोड मा राखिएको थियो। सूर्यको प्रकाश अर्को दिशाबाट प्राप्त भएपछि उक्त यानले पृथ्वीमा तस्बिरहरू पठाउन सकेको थियो। तर चन्द्रमामा रात परेपछि फेरि त्यसलाई बन्द गरिएको थियो। जाक्साका अनुसार स्लिम को निर्माण कठोर चन्द्ररात्रिमा हुने अवस्था खप्ने गरी भएको थिएन।
त्यतिबेला उक्त निकायले चन्द्रमामा फेरि सूर्योदय भएपछि मध्यफेब्रुअरीदेखि स्लिमका सौर्य प्यानलमा प्रकाश पर्ने र उक्त ल्यान्डरलाई फेरि सञ्चालन गर्न प्रयास गर्ने जनाएको थियो। चन्द्रमामा दीर्घकालीन रोबटिक वा मानवसहितको अभियान चलाउने हो भने चन्द्रमाको रातमा जोगिनु भनेको एउटा ठूलो प्राविधिक चुनौती पार गर्नु हो। स्लिम चन्द्रमाको मध्यरेखानजिकै ओर्लिएको थियो।
यस स्थानमा मध्याह्नतिर तापक्रम १०० डिग्री सेल्सिअस पुग्छ तर राति ह्वात्तै झरेर माइनस १३० डिग्री हुन्छ। अवतरण गरेको केही समयमै ल्यान्डरसँगको सञ्चारसम्पर्क विच्छेद गरेको जानकारी जाक्साले दिएको थियो। त्यतिबेला त्यहाँ मध्यदिन थियो र सञ्चार गर्न प्रयोग हुने उपकरण निकै तातेको थियो।