काठमाडौं । प्रहरीले चर्को आवाज निकाल्ने गरी मोडिफाइ गरेका मोटरसाइकलविरुद्ध कारवाही अभियान चलाएको छ । एक महिना चलाएको यो अभियानका दौरान कुल ३ सय ४२ मोटरसाइकल कारबाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार एक महिनामा ठूलो आवाज निकाल्ने र स्वरूप परिवर्तन गरी चलाउनेलाई कारबाही गर्न विशेष अभियान चलाइएको थियो । सो अभियानका दौरान ३ सय ४२ वटा मोटरसाइकल प्रहरीको फन्दामा परेका हुन् ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईका अनुसार यस प्रकारका मोटरसाइकलका कारण दुर्घटना निम्तिने खतरा हुन्छ । त्यसले सर्वसाधारणलाई अनावश्यक आवाजका कारण आतंकित तुल्याउने र ध्वनि प्रदूषण समेत गर्छ ।
साइलेन्सरलाई मोडिफाई गरी, फिल्टर निकालेर वा कम्पनीबाटै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकलको संचालनमा प्रहरीले कडाई गरिरहेको छ । महाशाखाका अनुसार यस प्रकारका मोटरसाइकलको नम्बर संकलन गरी निरन्तर निगरानी गरिदै आएको छ ।