काठमाडौं । स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण भएपछि रोकिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको खोप अभियान आजबाट पुनः संचालनमा आउने भएको छ । एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान मंगलबारबाट पुनः सञ्चालन गरिने भएको छ । काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन गरिएपछि खोप अभियान पुनः सञ्चालन गर्न लागिएको हो । मंगलबार बिहान १० बजेदेखि खोप लगाउन शुरु गरिने छ ।
आइतबार अस्पतालमा ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएपछि सोमबारदेखि एक हप्ताका लागि खोप अभियान स्थगन गरिएको थियो । यो अस्पतालमा कोरोना भाइरसविरुद्धको पहिलो मात्रा, पूर्ण मात्रा र बुस्टर डोज लगाइन्छ । टेकु सबैभन्दा व्यस्त अस्पताल हो ।