काठमाडौं । दक्षिण कोरियामा हजारौं चिकित्सक प्रदर्शनमा उत्रिएका छन् । बीबीसीका अनुसार सरकारले बिहीवारदेखि काममा नफर्किए हडताल गरिरहेका हजारौँ कनिष्ठ चिकित्सकहरूलाई पक्राउ गर्ने र उनीहरूको मेडिकल लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ। दक्षिण कोरियामा झन्डै तीनचौथाइ कनिष्ठ चिकित्सकहरू गत सातादेखि काममा गएका छैनन्। उनीहरूको आन्दोलनका कारण ठूला शिक्षण अस्पतालहरूमा सेवा प्रभावित भएको छ। स्वास्थ्यप्रणालीमा चिकित्सकहरूको सङ्ख्या बढाउन विश्वविद्यालयहरूमा चिकित्साशास्त्रमा थप विद्यार्थीहरू भर्ना लिने सरकारको योजनाको विरोधमा प्रशिक्षार्थी चिकित्सकहरूले हडताल गरेका हुन्।
अन्य विकसित देशहरूको तुलनामा दक्षिण कोरियामा बिरामीको अनुपातमा चिकित्सकको निकै एकदम थोरै छ। न्यून सङ्ख्या र पाका उमेरका मानिसको बढ्दो जनसङ्ख्याका कारणले एक दशकपछि त्यहाँ चिकित्सकहरूको ठूलो अभाव हुन सक्ने सरकारको तर्क छ। यो साता सोलस्थित सेन्ट मेरिज अस्पताल निकै खाली देखियो। त्यसले भविष्य कस्तो हुन्छ भन्ने झल्को दिएको छ। त्यहाँ बिरामीहरूलाई नआउन सूचित गरिएको थियो। अस्पतालको आकस्मिक कक्षबाहिर चिकित्सक र बिरामी कोही देखा परेनन्।
दक्षिण कोरियामा चिकित्सकहरूको पारिश्रमिक तुलनात्मक रूपमा उच्च छ। तर लामो अवधि काम गर्नुपर्ने हुँदा कनिष्ठ चिकित्सकहरूले प्रतिघण्टा पाउने पारिश्रमिक सरकारले तोकेको न्यूनतम तलबभन्दा कम हुन जाने बताइएको छ । दक्षिण कोरियामा धेरै स्वास्थ्यसंस्थाहरू निजी भए पनि सस्ता छन्। तर देशमा आकस्मिक, जीवनरक्षा गर्ने शल्यक्रिया तथा विशेषज्ञ उपचारको शुल्क निकै कम निर्धारण गरिएको र कस्मेटिकजस्ता कम आवश्यक उपचारहरूमा धेरै पैसा भएको आन्दोलनरत चिकित्सकहरूको गुनासो छ।