देवघाटधाममा शतबीज छर्नेको घुइँचो

पवित्र तीर्थस्थल देवघाटधाममा बाला चतुर्दशीका दिन बुधबार बिहान शतबीज छर्दै श्रद्धालु । मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन साँझ दिवंगत पितृको सद्गतिको कामना गर्दै पितृका नाममा बत्ती बालेर जाग्राम बसेर बाला चतुर्दशीका दिन बिहान शतबीज छर्ने गरिन्छ । तस्बिर ः सनद अधिकारी ÷ रासस

दमौली, ३ मङ्सिर । पितृउद्धारको कामना गर्दै देवघाटमा शतबीज छर्नेको घुइँचो लागेको छ । मङ्गलबार राति पितृका नाममा बत्ती बालेर आज बिहान उनीहरूले छतबीज छरेका हुन् । देवघाटमा गोरखा, लमजुङ, नवलपुर, चितवन, बुटवल, काठमाडौँलगायत स्थानबाट छतबीज छर्न आएका हुन् ।

शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास रहेकाले देवघाटधाम आएको बन्दीपुर गाउँपालिका–४ निवासी टिकाराम पनेरुले बताए । हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीका दिन जाँै, धान, कालो तिल, गहुँ, तोरी, मास, केराउ, लावा, मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा शतबीजका रूपमा छर्ने गरिन्छ ।